एमाले कमजोर पार्ने षड्यन्त्र हुँदैछ : पौडेल
तस्बिरः लक्ष्मण पौडेल
भैरहवा, पुस २३ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमालेलाई एकल्याउने षडयन्त्र भएको बताउनु भएको छ । पार्टीलाई विभाजित गरेर कम्युनिष्ट आन्दोलनलाई विभाजित गर्ने प्रयास असफल भएको उहाँको दाबी छ । एमाले रुपन्देहीको नवौंं जिल्ला अधिवेशनलाई शुक्रबार भैरहवामा सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले यस्तो बताउनुभएको हो ।
‘एमाले अन्य पार्टी भन्दा ठूलो भएर मात्र हुँदैन, एक्लै स्पष्ट बहुमत ल्याउनुपर्छ’, उहाँले भन्नुभयो । पूर्वउपप्रधान तथा अर्थमन्त्रीसमेत रहनुभएका नेता पौडेलले एमाले प्रतिपक्षमा रहे पनि जनताको साथमा रहेको बताउनुभयो । एमालेका सचिव, लुम्बिनी प्रदेशका इञ्चार्ज तथा पूर्वमन्त्री छविलाल विश्वकर्माले एमाले पुनः जिम्मेवारीमा आउने दाबी गर्नुभयो । उहाँले आम जनताले पार्टीप्रति गरेको विश्वासलाई अझ प्रगाढ बनाउनुपर्नेमा जोड दिनुभयो ।
पार्टीका स्थायी समिति सदस्य तथा पूर्वमन्त्री घनश्याम भुसालले आजको कम्युनिष्ट पार्टीको ठूलो चुनौती भनेकै दलाल पूँजीवादबाट बच्नु भएको बताउनुभयो । उहाँले यसबाट बच्न सके क्रान्ति सफल हुने बताउनुभयो। एमाले रुपन्देहीका अध्यक्ष शिवराज सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष पुरुषोत्तम घिमिरे, सचिव जगेश्वरदेवी चौधरीलगायतले बोल्नुभएको थियो ।