राजनीति |

सामाजिक सद्भाव खलबल हुने गरी प्रचारप्रसार गर्न नपाउने

काठमाडौं, पुस २६ गते । राष्ट्रिय सभा सदस्यको माघ १२ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि  निर्वाचन आचार संहिता, २०७२ सोमबारदेखि लागू भएको छ । निर्वाचन आयोगले स्वच्छता, निष्पक्षता, पारदर्शिता एवम् भयमुक्त वातावरण निर्माणका लागि आचार संहिता सम्बन्धित सबैले पालना गर्नुपर्ने जनाएको छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचनको आचार संहिता सबै तहको सरकार, राजनीतिक दल, सार्वजनिक संस्थाका कार्यालय, अर्धसरकारी संस्थाको कर्यालय तथा कर्मचारी, राजनीतिक दल तथा दलको भातृ संगठन, उम्मेदवार तथा सम्बन्धित व्यक्ति, सरकारी तथा निजी क्षेत्रका सञ्चार माध्यम, सरकारको अनुदानमा सञ्चालित विश्वविद्यालय, सामुदायिक विद्दालयका शिक्षक तथा कर्मचारी, सुरक्षा निकाय, पर्यवेक्षक लगायत सबैमा आकर्षित हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल बताउनुहुन्छ । आचारसंहिताको पूर्णपाठ आयोगको आधिकारिक वेबसाइटमा समेत राखिएको उहाँको भनाइ छ ।

आचार संहितामा के गर्न हुने, के गर्न नहुने भन्ने विषय उल्लेख रहेको बताउनुहुँदै उहाँ भन्नुहुन्छ, यो समयमा सरकारले पनि नयाँ कार्यक्रम लञ्च गर्न भएन । सरकारी कर्मचारीको सरुवा, बढुवा, नयाँ नियुक्ति, पुरस्कार वितरण, तलब वृद्धि लगायतका गतिविधि पनि गर्न नहुने कुरा निर्वाचन आचार संहितामा उल्लेख गरिएको छ ।

सरकारका प्रमुख व्यक्तित्वले भ्रमण पनि गर्न नहुने आचार संहितामा छ । यदि, कुनै सवालमा गर्नै परे निर्वाचन आयोगको स्वीकृति लिनुपर्ने पौडेल बताउनुहुन्छ ।

यसैगरी, राजनीतिक दलहरुले प्रचारप्रसार गर्दा अरुलाई होच्याउने, अलग्याउने काम गर्न हुदैन । देशभित्र सामाजिक सद्भाव खलबल गर्ने जस्ता अनावश्यक प्रहार हुने गतिविधि गर्न नहुने आचार संहितामम उल्लेख छ ।

सञ्चार माध्यमले पनि निःशुुल्क रुपमा कुनै पनि राजनीतिक दलको प्रचारप्रसार गर्न पाउँदैनन् । कसैलाई काखा र कसैलाई पाखा हुने गरि मिडियाले प्रचारप्रसार गर्न पाउँदैन, उहाँ बताउनुहुन्छ । एक दिनमा कति जनालाई कति समय दिने भन्ने कुराहरु आचार संहितामा उल्लेख छ, जुन सबैले पालना गर्नैपर्छ ।

राष्ट्रियसभा सदस्यको निर्वाचनमा सत्ता गठबन्धनका पाँचसहित अन्य गरि जम्मा नौ राजनीतिक दलले भाग लिदैछन् । सबै दलहरुबाट जम्मा ४३ जना उम्मेदवारहरु हुनुहुन्छ । आजदेखि लागू भएको आचार संहिता माघ १२ गते राष्ट्रिय सभाको निर्वाचन सुरु हुनु अघिसम्म लागू हुने आयोगले बताएको छ ।