राजनीति |

संविधानको व्यवस्थालाई अपव्याख्या नगरौँ : महासचिव पोखरेल

काठमाडौं, माघ ६ गते । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले संविधानको अपव्याख्या नगर्न अनुरोध गर्नुभएको छ । सत्ता गठबन्धनले स्थानीय तहभन्दा अगाडि संघीय संसद्को निर्वाचन गर्ने विषयमा छलफल गरेकोप्रति आपत्ति जनाउँदै उहाँले यस्तो बताउनुभएको हो ।

६ महिनाभित्र स्थानीय चुनाव गर्नैपर्ने संविधानको व्यवस्थालाई अपव्याख्या गर्दै स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाएर दुरुपयोग गर्न खोजेको आरोप उहाँको छ । यो विषयमा बोल्न नसक्ने अस्थिरताका सर्जक भएको उहाँको व्याख्या छ ।

‘संविधानमा तीन तीन महिना गरेर ६ महिना संकटकाल लगाउन सकिने व्यवस्था समेतलाई ध्यानमा राखेर ६ महिनाभित्र चुनाव गर्नैपर्ने संविधानको व्यवस्थालाई अपव्याख्या गर्दै बिनाकुनै कारण ६ महिना स्थानीय तह जनप्रतिनिधिविहीन बनाएर त्यसको दुरुपयोग गर्नखोज्ने परमादेशी सत्ता गठबन्धन विरुद्धमा चुँ बोल्न नसक्नेहरु आफैंमा अस्थिरताका सर्जक हुन्’, महासचिव पोखरेलले फेसबुकमा लेख्नुभएको छ ।