राजनीति |

गण्डकी प्रदेशमा राष्ट्रिय सभा निर्वाचनको तयारी पूरा

अर्जुन काफ्ले
स्याङ्जा, माघ ११ गते । गण्डकी प्रदेशमा राष्ट्रिय सभा निर्वाचनको तयारी पूरा भएको छ । चार वर्षे कार्यकालका सकिन लागेको गण्डकी प्रदेशका राष्ट्रिय सभाका तीन सीटमा निर्वाचन हुँदैछ । यसका लागि सम्पूर्ण तयारी पूरा भएको प्रदेश निर्वाचन कार्यालय कास्कीले जनाएको छ ।

गण्डकीबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने माओवादीका दिनानाथ शर्मा र खिमबहादुर विक तथा नेकपा (एकीकृत समाजवादी)का शान्ति अधिकारी पदावधी सकिन लागेसँगै बुधबार निर्वाचन हुन लागेको हो । निर्वाचन बिहान ९ बजेदेखि ३ बजेसम्म हुने छ ।

निर्वाचनका लागि प्रदेश निर्वाचन कार्यालय कास्कीमा सबै तयारी पूरा भएको प्रमुख निर्वाचन अधिकारी हुमनाथ पराजुली बताउनुभयो । मतपत्र, पतपेटिका, निर्वाचनका लागि आवश्यक कर्मचारी, सुरक्षाकर्मीको तयारी गरिएको पराजुलीले बताउनुभयो ।

यहाँ सत्ता गठबन्धनबाट काँग्रेसका कमला पन्त (महिला), माआवादी केन्द्रका सुरेश आलेमगर (खुला) र भुवन सुनार(दलित) उम्मेदवार हुनुहुन्छ । यस्तै, प्रतिपक्षी दल नेकपा एमालेले पुण्यप्रसाद पौडेल(खुला), लीला पोखरेल थनेट (महिला) र अर्जुन प्रसाद सुनाम (दलित) लाई उम्मेदवार बनाएको छ ।

गण्डकीमा निर्वाचनमा ५९ जना प्रदेश सांसद र ८५ पालिकाका १७० जना प्रमुख उपप्रमुख गरी १७० जना मतदाता रहेका छन् । यहाँ प्रदेश सांसदको दुई हजार ८३२ र पालिकाका प्रमुख र उपप्रमुखको तीन हजार ६० मत गरी पाचँ हजार ८९२ मतभार रहेको छ । सत्ता गठबन्धनको स्पष्ट बहुमत रहेको गण्डकीमा निर्वाचन औपचारीकता जस्तै रहेको छ ।

यहाँ गठबन्धको नेपाली काँग्रेससँग १५ सांसद र ८१ पलिकाको दुई हजार १७८, माओवादी केन्द्रसँग माओवादी केन्द्रसँग १२ सांसद र १२ पालिकाको ७९२ मत रहेको छ भने राष्ट्रिय जनमोर्चासँग दुई सांसद र तीन पालिकाको १५०, एकीकृत समाजवादीको एक पालिकाको १८ मत रहेको छ । स्वतन्त्र संसद रहेर सत्ता साझेदारी गरिरहनु भएका राजिब बहादुर गुरुङ (दीपक मनाङे) को ४८ मतभार रहेको छ ।

२७ सांसद र ६९ पालिकासहित दुई हजार ५३८ मत भार नेकपा एमालेको रहेको छ भने गण्डकीमा राप्रपाको एक पालिका १८ र तीन पालिकामा स्वतन्त्र प्रतिनिधिको ५४ मतभार रहेको छ ।