एमालेले पार्टी नियमावली पास ग-यो
काठमाडौं, माघ १९ गते । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको बुधबार बसेको सचिवालय बैठकले पार्टीको नियमावली र जनसंगठन समन्वय संयन्त्र निर्देशिका पास गरेको छ । पार्टीको नयाँ विधान अनुरुप बनेको नियमावली पास गरिएको एमाले नेता पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।
राष्ट्रिय सभाको निर्वाचनमा प्रदेश १ र सुदूरपश्चिममा पार्टीभित्र अन्तरघात भएको समीक्षा गर्दै एमालेले यसको छानबिन गरी कारबाही गर्न आवश्यक सिफारिस गर्न प्रदेश समितिलाई जिम्मा दिइएको पनि गुरुङले बताउनुभयो ।
यसैगरी, बैठकले महिला, युवा विद्यार्थी र अखिल नेपाल किसान महासंघ बाहेकका अरु जनसंगठनहरुको अधिवेशनको प्रक्रिया निरन्तर अगाडि बढाउने निर्णय गरिएको उहाँले बताउनुभयो । बैठकले पार्टी स्कूल विभाग गठन गरेको र सहकारी र स्थानीय विभागमा सदस्यहरु थप गर्ने निर्णय गरेको उहाँले भन्नुभयो ।
यसैगरी, पार्टी सदस्य शुल्क केन्द्रीय कमिटीमा ४० प्रतिशत, प्रदेशमा २५ प्रतिशत, जिल्लामा २५ प्रतिशत र पालिकामा १० प्रतिशत गर्ने निर्णय गरेको छ ।
आगामी स्थानीय तहको चुनावका लागि सरकारलाई दबाब दिने एमालेले जनाएको छ । राष्ट्रिय राजनीतिमा उठिरहेको अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्बन्धमा भने बैठकमा कुनै छलफल नगरिएको गुरुङले बताउनुभएको छ ।