मधेस प्रदेश फेरि माओवादीमय हुँदैछ: प्रचण्ड
काठमाडौं, माघ २७ गते। सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेस प्रदेश फेरि माओवादीमय हुने बताउनुभएको छ।
रुपन्देही सम्मरिमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ सुक्ला (बब्लु), वडा अध्यक्ष श्रवणकुमार यादव लगायत एक पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताउनुभएको हो।
प्रचण्डले विगतमा मधेस माओवादीमय हुँदा नेपाल नै माओवादीमय भएको भन्दै उहाँले यस्तो बताउनुभएको हो। यसअघि मधेस माओवादीमय हुँदा विजय यात्रालाई कसैले रोक्न नसकिने भन्ने हेतुले रुपन्देही र कपिलवस्तुमा भयानक हत्याकाण्ड भएको सम्झनासमेत उहाँले गर्नुभएको छ।
त्यसपछि नाम मात्रका मधेस मुक्तिका दल बनेको उहाँको टिप्पणी छ। तिनै मधेसवादी दलले संघीयता, गणतन्त्र र पहिचानको अधिकार विरोधी एमालेसँग साँठगाँठ गरेको उहाँको भनाइ छ।
‘फेरि एक पटक लुम्बिनीलगायत मधेस प्रदेश माओवादीमय हुँदैछ’, अध्यक्ष प्रचण्डले भन्नुभयो।