राजनीति |

संसद्‍ बैठक स्थगित गर्न एमालेको आग्रह

काठमाडौं, माघ २७ गते। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले फागुन २ गतेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित गर्न माग गरेको छ। विराटनगरमा फागुन १ र २ गते पार्टीको क्षेत्रीय अधिवेशन तोकिएकाले उक्त मितिमा प्रतिनिधिसभाको बैठक नराख्न आग्रह गरेको एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो।

‘संघीय संसद्‍ सचिवालयलाई फागुन १ र २ गतेका लागि बैठक नराख्न आग्रह गरेका छौँ’, गोरखापत्रसँग कुरा गर्दै प्रमुख सचेतक भट्टराईले भन्नुभयो, ‘विराटनगरमा हुने पार्टीको क्षेत्रीय अधिवेशनमा सबै संसद्‍ र शीर्ष नेता सहभागी हुने हुँदा बैठकको मिति सार्न अनुरोध गरेका हौँ।’

एमालेले बैठक स्थगित गर्न आग्रह गरे पनि संघीय संसद्‍ सचिवालयले कुनै जवाफ नपठाएको भट्टराईको भनाइ छ। ‘हामीले बैठक स्थगित गर्न अनुरोध गरेका हौँ’, भट्टराईले भन्नुभयो, ‘अहिलेसम्म सचिवालयले कुनै जवाफ पठाएको छैन।’

एमालेले यसअघि पार्टीले कारबाही गरेका १४ सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले नहटाएको भन्दै संसद्‍ बैठक अवरुद्ध गर्दै आएको छ।