एकीकृत समाजवादीको स्थायी कमिटी बैठक फागुन ७ गते बस्ने
काठमाडौं, फागुन ३ गते। सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक फागुन ७ गते बस्दैछ।
स्थानीय तहको चुनाव, अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता लगायतका विषयमा छलफल गर्न स्थायी कमिटी बैठक बस्न लागेको हो। एकीकृत समाजवादीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार बैठकमा राजनीतिक र समसामयिक विषयमा छलफल हुनेछ।
पछिल्लो समय प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि सत्ता गठबन्धनका तीन दलका ९८ सांसदको हस्ताक्षरमा संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएपछि राजनीतिक दलले आन्तरिक छलफललाई तीव्रता दिएका छन्।
मङ्गलबार मात्र प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको भेटवार्ता भएको छ। पछिल्ला दिनमा एमसीसी र प्रधानन्यायाधीशविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावमाथि छलफल तीव्र बनेको हो।