राजनीति |

प्रतिनिधिसभा संसदमा एमालेको विरोध आज पनि जारी रहने

काठमाडौं, फागुन ६ गते । प्रतिनिधिसभा संसदको शुक्रबार दिउँसो १ बजे बस्ने बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोध गर्ने जनाइएको छ । एमाले सचेतक विशाल भट्टराईले आजको संसद बैठकमा पूर्ववत् कार्यक्रम निरन्तर जारी रहने बताउनुभयो । एमालेले १४ जना सांसदको कारबाहीको माग राख्दै संसदमा विरोध जारी राख्दै आएको छ ।

तथापि, बिहीबार राति प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच बालकोटमा भेटवार्ता भएकाे थियो । यसपश्चात् पनि संसदमा विरोध कायमै रहने एमालेले जनाएको हो ।

हिजोको भेटतर्फ ईंगित गर्नुहुँदै ‘हिजोको भेटमा खासै निचोड आएन । पहिला उहाँहरुले सत्ता गठबन्धनसँगको सम्बन्ध क्लियर गर्नुप¥यो ।’, उहाँले भन्नुभयो ।

यसैगरी, संसदको बैठक अगाडि साढे ११ बजे बस्ने भनिएको कार्यव्यवस्थाको बैठकमा एमालेले सहभागी नहुने जनाएको छ । अमेरिकी आर्थिक सहायता मिलिनियम् च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्बन्धमा हिजोको सत्ता गठबन्धनको बैठकमा सहमति जुट्न सकेन । यस विषयमा गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भइसकेको छ ।

सत्ता साझेदार दलहरु नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले गठबन्धन कायमै राख्न जोड दिइएको बताउँदै आए पनि यथास्थितिमा एमसीसी अघि बढ्न नसक्ने अडान राख्दै आएको छ । संसद बैठक अघिको गठबन्धन बैठकलाई निकै महत्वपूर्ण रुपले हेरिएको छ ।