अब हिन्दुराष्ट्र पुनःस्थापनाको लागि होमिन्छौं : कमल थापा
काठमाडौं, फागुन २८ गते। राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दुराष्ट्र पुनःस्थापनाको लागि आन्दोलन गर्ने बताउनुभएको छ। शनिबार राप्रपा नेपालको भातृ संगठन राष्ट्रिय युवा मोर्चाको घोषणासभालाई सम्बोधन गर्ने क्रममा थापाले यस्तो बताउनुभएको हो।
नेपालीलाई एउटै सुत्रमा बाँधेर हिँडाउन सनातन धर्म, संस्कृतिको रक्षा गर्नु पहिलो आवश्यकता भएको उहाँको भनाइ छ। सनातन धर्म, संस्कृति र परम्पराको जग धरापमा पर्न थालेकोले राष्ट्रिय अखण्डता तथा राष्ट्रियताको जग बलियो बनाउन राप्रपा नेपालले संगठन विस्तार सँगसँगै चाँडै आन्दोलनका कार्यक्रम घोषणा गर्ने उहाँले प्रष्ट पार्नुभयो।
नेपाल अन्तर्राष्ट्रिय शक्तिको रणनीतिक प्रतिस्पर्धास्थल बनेको भन्दै थापाले यो राम्रो नहुने उल्लेख गर्नुभयो। फागुन ७ गते औपचारिक घोषणा भएको राप्रपा नेपालले तीन हप्तामा नै संगठन निर्माण र विस्तारमा कल्पनाभन्दा माथिको सफलता प्राप्त गरेको उहाँको भनाइ छ।
कार्यक्रममा युवा नेता नगेन्द्र देउजाको अध्यक्षतामा ११३ सदस्यीय राष्ट्रिय युवा मोर्चा नेपाल घोषणा गरिएको थियो। नवगठित मोर्चाका पदाधिकारी तथा सदस्यलाई पार्टी अध्यक्ष कमल थापाले माला र खादा लगाएर सम्मान गर्नुभयो।