राजनीति |

‘स्थानीय निर्वाचनमा एमाले देशभर एक्लै लड्छ’

काठमाडौं, चैत २ गते। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) संसदीय दलको बैठकमा स्थानीय निर्वाचनको सम्बन्धमा छलफल भएको छ। संघीय संसदको दुवै अधिवेशन अन्त्यपछि बसेको एमाले संसदीय दलको पहिलो बैठकले संघीय संसदको १० औं अधिवेशनको समीक्षा गरेको छ।

बुधबारको बैठक संसद अधिवेशनको सुरु र अन्त्यमा बस्ने नियमित भएको एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो। सत्ता गठबन्धनका गतिविधिबारे आलोचनात्मक टिप्पणी गरेको एमालेले स्थानीय तहको चुनावमा गठबन्धन नगरी अगाडि बढ्ने तयारी गरेको छ।

स्थनीय तहमा यदाकदाबाहेक कुनै पनि दलसँग गठबन्धन नगर्ने उहाँको प्रमुख सचेतक भट्टराईको भनाइ छ।

‘देशभर एक्लै लड्छ, सात सय ५३ स्थानीय पालिकामा नै एमाले एक्लैले चुनाव लड्छ’, भट्टराईले भन्नुभयो। त्यसका लागि सर्वसम्मतीमा उम्मेदवार छान्ने निर्णय भएको उहाँको भनाइ छ।

‘सत्ता गठबन्धनको क्रियाकलापको गम्भीर विश्लेषण भयो। अर्थतन्त्र नराम्रोसँग भाँसिएको छ। ठोस प्रगति हासिल गरेको छैन। यसमा एमाले रमिते बन्दैन र सशक्त रुपमा प्रतिवाद गर्छ’, भट्टराईले भन्नुभयो, ‘आगामी चुनावमा एक्लै लडेर ६५ देखि ७० प्रतिशत सिट विजय हासिल गर्ने आंकलन पनि एमालेले गरेको छ।’

संसद अधिवेशन अन्त्य, स्थानीय निर्वाचनसँगै महाअभियोग प्रस्ताव को विषयमासमेत बैठकमा छलफल भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाविरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव अदालतलाई गिजोल्ने दुरासयका साथ आएको ठहर एमालेको छ।

प्रमुख प्रतिपक्षी दलका सांसदले नाराबाजी र वेल घेराउ गर्दागर्दै गठबन्धनले अमेरिकी विकास सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गरेको र कुनै छलफल नै नगरी संसदको अधिवेशन हठात अन्त्य गरिएको प्रति एमालेले आपत्ति जनाएको छ।

बैठकमा स्थानीय निर्वाचन र एमालेको भूमिकाको विषयमा अध्यक्ष केपी ओलीले केही निर्देशनसमेत दिनुभएको छ।