राजनीति |

एमालेसँग सहकार्य गर्ने सम्भावना छ : कमल थापा

काठमाडौं, चैत २ गते। राप्रपा नेपालका अध्यक्ष कमल थापाले स्थानीय तहको चुनावमा नेकपा (एमाले)सँग सहकार्य गर्ने सम्भावना रहेको बताउनुभएको छ।

बुधबार राप्रपा नेपालका जिल्ला अध्यक्ष एवम् पदाधिकारीको भर्चुअल माध्यममा बसेको संयुक्त बैठकमा बोल्नुहुदै थापाले एमालेसँग चुनावी तालमेल गर्न सकिने सम्भावना फराकिलो रहेको बताउनुभयो।

चुनावी तालमेलका लागि स्थानीय तहबाट सुरु गर्नुपर्ने उहाँको भनाइ छ। थापाले एउटै पार्टीसँग तालमेल गर्नुपर्नेमा जोड दिनुभयो। एमालेसँग तालमेलको सम्भावना बढी रहेको उहाँको भनाइ छ। सहकार्यका लागि केन्द्रबाट सहजीकरण हुने विश्वास थापाको छ।

‘एमालेसँग व्यत्तिगत सम्बन्ध पनि राम्रो छ। वैचारिक दृष्टिकोणले पनि एमाले राष्ट्रवादी कित्तामा सशक्त छ’, अध्यक्ष थापाले भन्नुभयो। उम्मेदवारी छनोटलाई पनि अगाडि बढाउनुपर्ने र आवश्यक तालमेलका लागि तयारीमा जुट्नसमेत उहाँले भन्नुभएको छ।

जिल्ला कार्य समितिलाई पूर्णता दिने, भातृ संगठन विस्तारलाई सक्रियता दिइनुपर्ने उहाँको भनाइ छ। पार्टी अहिले कठिन र प्रतिकूल अवस्थामा रहेकोले पनि यसलाई देशको महत्वपूर्ण शक्तिको रुपमा स्थापित गर्नुपर्नेमा थापाको जोड छ।

‘स्थानीय तहको चुनावको लक्ष्य पार्टीले हरेक जिल्लामा खुट्टा टेक्न सक्ने स्थिति बनाउनु हो’, थापाले भन्नुभयो, ‘संसदको चुनावपछि राष्ट्रिय पार्टीको रुपमा स्थापित गर्नुपर्छ।’

अध्यक्ष थापाले जिल्लाको रिपोर्टिङ उत्साहजनक भएको भन्दै सम्पूर्ण पार्टी पंक्तिलाई चुनावको तयारीमा जुट्न आह्वान गर्नुभएको छ।