स्थानीय निर्वाचनका लागि कपिलवस्तुमा २१ दल दर्ता
नारद कोहार
तौलिहवा, चैत्र ९ गते । जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुमा राष्ट्रिय दल बाहेकका स्थानीय तहको निर्वाचनलाई लक्षित गरी २१ दल दर्ता भएका छन् । निर्वाचन आयोग सक्रिय रहेको जिल्लामा दलको निर्वाचन चिन्ह प्रदान गर्ने निर्णय गरेपछि उक्त दलले दल दर्ता भएका हुन् । जिल्लामा २१ राजनीतिक दलले चैत २ देखि ६ गतेसम्म तोकिएको मितिसम्म विवरण बुझाएर दर्ता गराएको जिल्ला निर्वाचन अधिकारी ज्ञानुराम पन्थीले बताउनुभयो । ती राजनीतिक दलले जिल्लास्तरको सङ्गठन संरचना (जिल्ला समिति) को विवरण पेश गरेका हुन् ।
निर्वाचन आयोगमा भने ७९ वटा दलले विवरण बुझाएका थिए । आयोगले स्थानीय तह निर्वाचनमा ७३ राजनीतिक दलको उम्मेदवारलाई सोही दलको निर्वाचन चिन्ह प्रदान गर्नेसम्बन्धमा जिल्लास्तरको सङ्गठन संरचना (जिल्ला समिति) को विवरण चैत ६ भित्र पेश गर्न पत्राचार गरेको थियो । उता स्थानीय तहको निर्वाचनको मिति नजिकएसँगै जिल्ला निर्वाचन कार्यालयले आफ्नो गतिविधि बढाएको छ ।
यही चैत १३ गते कार्यालयले अन्तिम नामावली प्रकाशनको तयारी गरेका जिल्ला निर्वाचन अधिकारी पन्थीले बताउनुभयो । प्रारम्भिक विवरण अनुसार जिल्लामा तीन लाख ७६ हजार १७९ मतदाता छन् । त्यसमध्ये एक हजार ७५७ जनाको मृत्यु भइसकेको विवरण आएको पन्थीको भनाइ छ ।
वैशाख ३० मा हुने जिल्लामा रहेको १० पालिकाको निर्वाचनका लागि २३५ वटा मतदान स्थान कायम भइसकेको छ । यसपटकको निर्वाचनमा शिवराज नगरपालिका–१ शिवमन्दिर धर्मशाला र विजयनगर गाउँपालिका–१ स्थित आधारभूत स्वास्थ्य चौकी मतदानस्थल थप भएको उहाँले बताउनुभयो ।
मतदानकेन्द्र भने अहिलेसम्म यकिन भइनसकेको पन्थीले जानकारी दिनुभयो । ४७३ वटा मतदानकेन्द्र हुने अनुमान गरिएको छ । गएको निर्वाचनमा जिल्लामा २३३ मतदानस्थलमा ४१० मतदानकेन्द्र थिए ।