हुम्लामा चुनावी गतिविधि तीव्र
राजन रावत
हुम्ला, चैत ९ गते । स्थानीय तहको निर्वाचन नजिकिएसँगै जिल्लामा चुनावी गतिविधि तीव्र भएको छ । निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न र सम्भावित स्थानीय तहको निर्वाचनका लागि आफ्नो पार्टीका तर्फबाट उम्मेदवार छान्नका लागि विभिन्न राजनीतिक दलले दैनिकजसो कार्यक्रम गरिरहेको छ । नेपाली काँग्रेसले यही चैत २ गतेबाट ‘गाउँ जाउँ, नेपाली काँग्रेस’ जिताउ अभियान सुरु गरेको छ । अभियान चैत महिनाभरि सञ्चालन हुनेछ ।
अभियानअन्तर्गत काँग्रेस नेताहरुले पालिकास्तर गतिविधि तीव्रता दिएको छन् । काँग्रेस हुम्लाका उपसभापति बसन्त रोकायाका अनुसार पदाधिकारीहरुको नेतृत्वमा गाउँपालिका स्तरमा निर्वाचन लक्षित कार्य सुरु भएको छ । यसका लागि सात वटै गाउँपालिकामा काँग्रेसका नेता खट्नभएको उहाँले बताउनुभयो ।
जिम्मेवारी पाएका पदाधिकारीले गाउँ–गाउँ र बस्ती–बस्ती पुगेर कार्यकर्तासँग भेटघाट र राय सल्लाह लिएर प्रतिवेदन तयार पार्ने र पार्टी बुझाउनुपर्ने उहाँले बताउनुभयो । त्यसमा सात वटै गाउँपालिकामा खटिएका टोलीले वडा कार्य समितिको समन्वयमा सम्भावित स्थानीय तहका आकांक्षीहरुको नाम समेत पार्टीलाई पेश गरेर चैत २५ सम्म उम्मेदवारको टुङ्गो लगाउने तयारी काँग्रेसले गरेको छ ।
यसैगरी, नेकपा (एमाले) अध्यक्ष कलबहादुर हमालले निर्वाचन लक्षित छ वटा गाउँपालिका कार्यकर्ता भेटघाट र सङ्गठन सदृढीकरण कार्यक्रम सम्पन्न भएको बताउनुभयो । यसका लागि उक्त पार्टीको जिल्ला कमिटीका सबै पदाधिकारी र केन्द्रीय सदस्यहरु परिचालन हुनुभएको थियो । एमालले गाउँपालिका केन्द्रमा कार्यक्रम आयोजना गरेको थियो ।
अध्यक्ष हमालका अनुसार सो कार्यक्रमबाट सम्भावित स्थानीय तहको निर्वाचनको लागि उम्मेदवारका बारेमा सङ्गठित सदस्यहरु र पार्टी कार्यकर्ताहरुबाट राय सल्लाह लिने कार्य पनि भएको छ । पहिलो चरणको निर्वाचन लक्षित कार्यक्रम सम्पन्न गरेको एमालेले दोस्रो चरणको कार्यक्रमको तयारी थालेको छ ।
त्यस्तै, नेकपा (माओवादी केन्द्र) प्रदेश क्षेत्रअन्तर्गत दुई वटा कार्यक्रम एकसाथ सुरु गरेको छ । सो कार्यक्रममा पार्टीको गाउँपालिका स्तरीय समितिका पदाधिकारी, जिल्ला समन्वय समिति र प्रदेश समितिका सदस्यहरुको समेत सहभागिता थियो । यी कार्यक्रममा माओवादी केन्द्रले निर्वाचन लक्षित प्रशिक्षण दिने कार्यक्रम गरेको थियो । सो कार्यक्रम सम्पन्न भएलगत्तै माओवादीले गाउँपालिका र वडा केन्द्रित कार्यक्रम सञ्चालन गरिने जनाएको छ । माओवादी केन्द्रले पनि चैत महिनाभित्र पार्टीका तर्फबाट उम्मेदवारहरुको टुङ्गो लगाउने गरी तयारी भइरहेको जनाएको छ ।
यता, नेकपा (एकीकृत समाजवादी)ले पनि स्थानीय तह निर्वाचन लक्षित कार्यक्रम गरिरहेको छ । आगामी वैशाख ३० गतेको हुने स्थानीय तहको निर्वाचन लक्षित कार्यक्रम सुरु भएको नेकपा एसका सचिव कमल छत्यालले बताउनुभयो । यसका लागि पार्टीले सात वटै गाउँपालिकामा सञ्चालन हुने कार्यक्रमको कार्यतालिका पनि सार्वजनिक गरेको छ । नेकपा एसका केन्द्रीय सदस्य र जिल्ला पदाधिकरीहरुलाई अभियानमा खटाइएको छ ।