एमाले केन्द्रीय कमिटी बैठक : सातै प्रदेशको रिपोर्टिङ प्रस्तुत
काठमाडौं, चैत ९ गते । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि छलफल भएको छ । अध्यक्ष ओलीले दशौं राष्ट्रिय महाधिवेशनदेखि हालसम्म पछिल्लो समय भइरहेको राजनीतिक परिवर्तनसहितको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
एमाले केन्द्रीय कमिटीको बुधबारको बैठकमा सातै प्रदेश कमिटीका अध्यक्षहरुले पार्टीको सांगठानिक, राजनीतिक, शक्ति सन्तुलनको स्थिति, पार्टी प्रवेशीको स्थिति लगायतका विषयमा रिपोर्टिङ प्रस्ततु गर्नुभएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताउनुभयो ।
प्रदेश नम्बर १ को तर्फबाट तुलसी न्यौपाने, मधेश प्रदेशबाट रामअवतार यादव, बागमतीबाट केशव पाण्डे, गण्डकीबाट नवराज शर्मा, लुम्बिनीबाट राधाकृष्ण कँडेल, कर्णालीबाट विनोदकुमार साह र सुदूरपश्चिमबाट दामोदर भण्डारीले प्रदेशको रिपोर्टिङ प्रस्तुत गर्नुभएको उहाँले बताउनुभयो ।
बैठकमा महासचिवले सांगठानिक प्रतिवेदन प्रस्तुत गर्नुभएको र विभागहरु थप गर्नुपर्ने विषय उठेको छ । यससँगै स्थानीय तहको चुनावका लागि उम्मेदवारको मापदण्ड, घोषणापत्र, पार्टी स्थापना दिवस लगायतका विषयमा छलफल भएको छ ।
७७ मध्ये तीन जिल्लाबाहेक सबैको रिपोर्टिङ भएको भन्नुहुदै उहाँले मधेश प्रदेशमा भने राजनीतिक अस्थिरताका कारण शक्ति सन्तुलनको विषय टुंगो लगाउन नसकिएको बताउनुभयो ।
यसैगरी, देशभरमा एमाले पहिलो, काँग्रेस दोस्रो र अन्य पार्टीहरु तेस्रो लगायतका स्थानमा रहेको निष्कर्श निकालेको उहाँले भन्नुभयो ।