प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट दुरुपयोग भयो : प्रवक्ता डा महत
काठमाडौं, चैत १२ गते । नेपाली काँग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट दुरुपयोग भएको बताउनुभएको छ ।
आज यहाँ शिवपुरी गाउँपालिकाद्वारा निर्मित भवन उद्घाटन कार्यक्रममा उहाँले भन्नुभयो, “यसअघिको ओली सरकारले ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रमको रु १९/२० अर्ब रकमको व्यापक दुरुपयोग भएको छ, यसबाट कुनै रोजगारी सिर्जना भएको छैन ।”
ओली सरकारले आफ्ना कार्यकर्तालाई रकम बाँड्नलाई मात्र यो कार्यक्रम ल्याएको र मनपर्दो ढङ्गबाट सो आयोजनाको रकम बाँडेर सकिएको उहाँको आरोप थियो ।
प्रवक्ता महतले सो आयोजनाको रकम बाँड्ने क्रममा तिमी कुन पार्टीको मान्छे हो भनेर सोधेरै आफ्नो पार्टीका मान्छेलाई मात्र सो रकम दिने गरिएको उहाँले बताउनुभयो । कुनै पारदर्शी योजनाबिना नै सो आयोजना ल्याइएको र सडकको फोहर टिप्ने तथा झार उखेल्ने काम लगाएर आफ्ना कार्यकर्तालाई रकम बाँडिएको उहाँले बताउनुभयो ।
उहाँले ओली सरकारका पालमा कयौँ अनियमिता भएका र जसका कारण देश आर्थिकरूपमा तहसनहस हुन पुगेको बताउनुभयो ।
भ्रष्टाचार, अनियमितता तथा कम्युनिष्ट सरकारका अनेक ज्यादतिका कारण नागरिक अत्तालिएर कांग्रेसको नेतृत्वमा सरकार खोजेका र वर्तमान सरकार निर्माण भएको उहाँले बताउनुभयो ।
उहाँले आगामी सबै निर्वाचनहरूमा नेपाली काँग्रेस नै पहिलो पार्टी हुने भन्दै यसका लागि काँग्रेसका कार्यकर्तालाई एकजुट भएर लाग्नु पनि आग्रह गर्नुभयो ।