लमजुङमा १२ दल दर्ता
बेलिना थापा
लमजुङ, चैत १४ गते । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि लमजुङमा १२ वटा दल दर्ता भएका छन् । जिल्ला निर्वाचन कार्यालय लमजुङका अनुसार राष्ट्रिय मान्यता प्राप्त छ वटा ठूला दलबाहेक १२ दले निर्वाचनका लागि चिह्न लिन कार्यालयमा दल दर्ता गराएका हुन् ।
कार्यालयका प्रमुख सृजना मिश्रका अनुसार आयोगले दलहरुलाई आफ्नै निर्वाचन चिह्न लिनका लागि चैत ४ गतेदेखि ६ गतेसम्म आवेदन दिन समय दिएको थियो । आयोगले तोकेको समयमा जिल्लामा रहेका १२ दलले आफ्नै निर्वाचन चिह्नका लागि विवरण बुझाएका छन् । उहाँका अनुसार राष्ट्रिय मान्यता प्राप्त छ दलमा नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) जिल्लामा विवरण बुझाउनुनपर्ने भएकाले ति बाहेकका दलले नाम दर्ता गराएको हो ।
लमजुङमा भने छ वटा दलमध्ये पाँचवटा मात्र छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) भने छैन । जिल्लामा भएका पाँच वटा ठूला दल बाहेक सामाजिक एकता पार्टी, नेपाल कम्युनिष्ट पार्टी (समाजवादी), राष्ट्रिय नागरिक पार्टी, मङ्गोल नेशनल अर्गनाईजेशन, आमूल परिवर्तन मसिहा पार्टी नेपाल, मौलिक जरोकिलो पार्टी, जनसमाजवादी पार्टी, नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राप्रपा नेपाल, विवेकशील साझा पार्टी, नेपाल परिवार दल र उन्नत लोकतन्त्र पार्टीले चिह्नका लागि विवरण बुझाएका छन् । उनीहरुको विवरण निर्वाचन आयोगमा पठाइएको कार्यालयले जनाएको छ ।
स्थानीय तहको निर्वाचनका लागि लमजुङमा १२३ वटा मतदानकेन्द्र कायम छ । बेँसीसहर नगरपालिकामा २१ वटा मतदानस्थल छन् । मस्र्याङदी गाउँपालिकामा २० वटा, मध्यनेपाल नगरपालिकामा १८ वटा, दोर्दी गाउँपालिका र सुन्दरबजार नगरपालिकामा १६÷१६ वटा मतदानस्थल छन् । यस्तै, राइनास नगरपालिकामा १२ वटा, क्व्होलासोंथर गाउँपालिकामा १० वटा, दूधपोखरी गाउँपालिकामा १० वटा मतदानस्थल छ । यसअघिको विंस. २०७४ सालको स्थानीय तह निर्वाचनमा कायम रहेकै मतदान स्थल यसपटक पनि कायम भएको हो । प्रदेश सभा निर्वाचन ‘क’ तर्फ ६४ वटा मतदानस्थल छन् । प्रदेश सभा निर्वाचन ‘ख’ तर्फ ५९ मतदानस्थल छन् । नगरपालिकामा ६७ वटा मतदानस्थल र गाउँपालिकामा ५६ वटा मतदानस्थल रहेको कार्यालयका सूचना अधिकारी दिबाखर शर्माले बताउनुभयो । जिल्लामा कुल मतदाता सङ्ख्या १ लाख ३२ हजार ४ सय ६६ छ । महिला मतदाता ६७ हजार ८ सय ३३ जना र पुरुष मतदाता ६४ हजार ६ सय ३३ छन् ।