राजनीति |

गैरआवासीय नेपालीका समस्या समाधान गर्न सरकार सकारात्मक छः मन्त्री बडू

काठमाडौं, चैत १६ गते। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले गैरअfवासीय नेपाली सङ्घले उठाउँदै आएका माग सम्बोधनका लागि सरकार सकारात्मक रहेको बताउनुभएको छ।

बुधबार काठमाडौंमा गैरआवसीय नेपाली सङ्घको ध्यानाकर्षण–पत्र बुझ्नुहुँदै मन्त्री बडूले ‌सवैधानिक व्यवस्थानुसार नागरिकतासँग सम्बन्धित विषय र सङ्घले उठाउँदै आएका अरु माग कानुन र नियमावली निर्माणबाट सम्बोधनका लागि आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने बचनबद्धता गर्नुभयो।

चैत्र १२ र १३ गते काठमाडौंमा सम्पन्न दशौं गैरआवासीय नेपाली सम्मेलनबाट निर्वाचित समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुहुँदै मन्त्री बडूले यस्तो बताउनुभएको हो।

सङ्घका अध्यक्ष कुल आचार्य नेतृत्वको टोलीले मन्त्री बडूलाई नेपालको संविधान २०७२ ले गैरआवासीय नेपाली नागरिकताका सम्बन्धमा गरेको व्यवस्था कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण, तीन पुस्तापछिको एनआरएनलाई पनि गैरआवासीय नेपाली नागरिकताबाट बन्चित नगराउने गरि संविधान संशोधनका लागि राजनीतिक सहमति र दोहोरो नागरिकता लिन नमिल्ने देशमा रहेका गैरआवासीय नेपालीहरुका लागि परिचयपत्रको माध्यमबाट सम्पत्तिलगायतका अधिकार प्रयोग गर्न सकिने गरी गैरआवासीय नेपाली ऐन २०६६ लाई संशोधन गर्न पहल र सहयोगका लागि आग्रह गरेको थियो।