राजनीति |

माओवादीमा केन्द्रित हुने लहर चलेको छ : अध्यक्ष प्रचण्ड

काठमाडौं, चैत १८ गते । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय निर्वाचनको मिति नजिकिदै गर्दा पार्टीमा केन्द्रित हुने लहर चलेको बताउनुभएको छ ।

शुक्रबार माओवादी पार्टी प्रवेशको एक कार्यक्रममा बोल्नुहुदै उहाँले देशमा एकात्मक र केन्द्रिकृत राजतन्त्र प्रणालीबाट संघीयता, समावेशी र समानुपातिक नयाँ प्रणाली ल्याउनमा माओवादी जनयुद्धको मुख्य भूमिका रहेको बताउनुभयो । संविधान निर्माण गर्ने, गणतन्त्र, संघीय, प्रादेशिक र स्थानीय सरकार माओवादीकै अगुवामा भएको तर पछि पार्टी विभाजन हुने क्रममा मतदातामा केही भ्रम पैदा भएको उहाँले बताउनुभयो ।

देशलाई सबैभन्दा बढी माया गर्ने, संकट परेको बेला निकास दिने, राष्ट्रिय एकतालाई सुदृढ गर्ने पार्टी माओवादी नै हो । चुनाव होला कि नहोला भन्ने स्थिति थियो । संविधान बनाइछाड्ने प्रक्रियाको अधिकार, शान्ति, सुव्यवस्था र परिवर्तन ल्याउने र देश बनाउने माओवादी नै हो, उहाँले बताउनुभयो । यसकारण पनि माओवादीमा केन्द्रित हुने लहर बढेको उहाँले प्रष्ट पार्नुभयो ।

महिला, आदिवासी जनजाति, मुस्लिम, दलित, थारु लगायत उत्पिडनमा परेकालाई विशेष अधिकार दिलाउन पनि माओवादीको महत्वपूर्ण योगदान रहेको उहाँले बताउनुभयो ।