राजनीति |

पार्टीको पक्षमा जनमत तयार गर्नुहोस् : अध्यक्ष ओली

काठमाडौं, चैत १८ गते। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा पार्टीको पक्षमा जनमत तयार गर्न निर्देशन दिनुभएको छ।

वैशाख ३० गते हुने लागेको स्थानीय तहको निर्वाचन केन्द्रित हुनुपर्नेमा उहाँले जोड दिनुभएको हो। शुक्रबार एमाले निकट भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को काठमाडौंमा आयोजित केन्द्रीय कमिटीको प्रथम पूर्ण बैठक तथा विस्तारित भेलालाई सम्बोधन गर्दै यस्तो निर्देशन दिनुभएको हो।

एमालेसँग चुनाव लड्न अरु कोही तयार नभएको भन्दै उहाँले अभियानलाई तीव्रता दिन नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको हो। ‘एमालेसँग एक्लै कसैले आँट गर्दैन। एमालेको छेउमा पनि नपर्ने बताइरहेका छन्’, अध्यक्ष ओलीले भन्नुभयो, ‘जनमतबाट सरकार बनाउने गरी हामीले अभियान सञ्चालन गर्नुपर्छ। एमालेको पक्षमा जनमत तयार गर्नुपर्छ।’

देशलाई समृद्ध बनाउन र जनतामा नयाँ चेतना जगाउन व्यक्ति–व्यक्तिमा गएर अन्धविश्वास र पछौटेपन हटाउन सामाजिक जागरण आवश्यक रहेको सुझाव उहाँले विद्यार्थी नेतालाई दिनुभएको छ।