प्रदेश |

सिन्धुपाल्चोकमा एकै कार्यालयका तीन जनामा कोरोना देखियो

बिदुर आचार्य

चौतारा, भदौ ८ गते । सिन्धुपाल्चोकमा एकै कार्यालयका तीन पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा ८९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आज (सोमबार) जिल्लामा तीन जनामा सङ्क्रमण भेटिएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी कृष्णराज तिवारीले जानकारी दिनुभयो ।

‘आज एक गैह्रसरकारी संस्थामा कार्यरत तीन जना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।’ तिवारीले भन्नुभयो । गत साता स्थानीय गैह्र सरकारी संस्था सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्चका चार जना सङ्क्रमण पुष्टि भएको थियो । दुई साताअघि चितवनमा एक कार्यक्रममा सहभागी भएर फर्किएका चार जनाको सम्पर्कमा आएका ५८ जनाको कन्ट्याक्ट ट्रेसिङमा एकै कार्यालयका तीन पुरुषमा सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको हो । ईन्द्रावती गाउँपालिकाको दुईसहित तीन पुरुषमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

७४ ले जिते कोरोना

सिन्धुपाल्चोक जिल्लाभरका ७४ जनाले कोरोना जितेर घर फर्किएका छन् । जिल्लाभर ८९ जनालाई कोरोना पुष्टि भएको छ । सङ्क्रमित ७४ जना निको भएर घर फर्किएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी कृष्णराज तिवारीले जानकारी दिनुभयो । नौ जना आइसोलेसनमा उपचाररत रहेको तिवारीले बताउनुभयो ।
कोरोना सङ्क्रमणबाट नेपालमै पहिलो मृत्यु भएको बाह्रबिसे–९ की सुत्केरी महिलासहित तीन जनाको मृत्यु भइसकेको छ । जिल्लाभर ११ महिलासहित ४१ जना क्वारेन्टाइनमा छन् । स्वास्थ्य कार्यालयको अनुसार जिल्लामा दुई हजार ७१० जनाको स्वाब परीक्षण गरिएको छ । परीक्षणमा पठाइएको ६२ जनाको स्वाबको नतिजा आउन बाँकी छ । आइतबार कोरोना सङ्क्रमणबाट मृत्यृ भएका बाह्रबिसेका एक पुरुषको मृत्यु संस्कारमा सम्लग्न ५३ जनाको स्वाब परीक्षण नतिजा नेगेटिभ आएको छ ।

आइसोलेसन बेड थपियो

जिल्लामा कोरोना सङ्क्रमितलाई राख्ने ठाँउ अभाव हुँदैगएको भन्दै २५ बेड क्षमताको आइसोलेसन कक्ष निर्माण सम्पन्न भएको छ । जिल्ला समन्वय समितिको नवनिर्मित भवनमा आइसोलेसन कक्ष थप गरिएको चौतारा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ईश्वरी प्रसाद श्रेष्ठले जानकारी दिनुभयो । ‘चौतारा अस्पतालको व्यवस्थापनमा २५ बेडको आइसोलेसन निर्माण सम्पन्न गरिएको छ । थप २५ बेडको तयारी भइरहेको छ ।’ अध्यक्ष श्रेष्ठले भन्नुभयो । योसँगै जिल्लामा ६५ बेड क्षमताको आइसोलेसन सञ्चालनमा आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।