महोत्तरीमा कोरोनाबाट एक पुरुषको मृत्यु
नागेन्द्रकुमार कर्ण
जलेश्वर, भदौ ९ गते । महोत्तरीमा कोरोनाको कारणले थप एक व्यक्तिको मृत्यु भएको छ । योसँगै महोत्तरीमा कोरोनाका कारणले तीन जनाको मृत्यु भइसकेको छ ।
जिल्लाको मनरासिश्वा नगरपालिका वडानं. ५ बस्ने ७५ वर्षीय पुरुषको कोरोनाको कारणले मृत्यु भएको हो । पीसीआर पोजिटिभ आएपछि उहाँलाई जलेश्वर अस्पतालको आइसोलेसनमा राख्नको लागि ल्याइएको थियो । आइसोलेसन सेन्टरमा नपुग्दै उहाँको मृत्यु भएको हो । उहाँसँगै पीसीआर पोजिटिभ उहाँका छोरासमेत साथमा रहनुभएको थियो ।
लामो समयदेखि उहाँ विभिन्न रोगले ग्रस्त रहेकाे जलेश्वर अस्पतालको आइसोलेसनमा खटिनुभएका चिकित्सक डा. मुकेशकुमार साहले बताउनुभयो । मृतकको छोराले दिएको जानकारीअनुसार डायबिटिज, उच्च रक्तचापको समस्याका साथसाथै क्यान्सरका समेत उनी बिरामी रहेका थिए । पछिल्लो समय उनको उपचार भरतपुर क्यान्सर अस्पतालमा समेत भइरहेको थियो । आइसोलेसन सेन्टरमा नराख्दै ती व्यक्तिकाे मृत्यु भएको डा.साहले बताउनुभयो ।
यसैबीच, जलेश्वर अस्पतालले कोरोनाबाट मृत्यु भएका ती व्यक्तिकाे शवलाई आवश्यक प्रक्रिया पुर्याएर नेपाली सेनालाई हस्तान्तरण गर्ने भएको छ ।
जलेश्वरस्थित रणभीम गणका गणपति विदुर अधिकारीले जलेश्वर अस्पतालबाट खबर प्राप्त भएको र आवश्यक प्रक्रियापछि कानुन अनुसार सदगत गरिने जानकारी दिनुभयो ।
स्वास्थ्य कार्यालय महोत्तरीका कोभिड १९ फोकल पर्सन गिरेन्द्रकुमार झाले जिल्लामा ८९ महिला र १०८३ पुरुष गरी ११७२ जना अहिलेसम्म पीसीआर पोजिटिभ देखिएको बताउनुभयाे । योसहित तीन जनाको मृत्यु भइसकेको उहाँले बताउनुभयो । यसअघि महोत्तरी गाउँपालिकाका एक वृद्ध, मटिहानी नगरपालिकाको एक वृद्धको कोरोनाबाट मृत्यु भइसकेको छ ।