प्रदेश |

जमुनाहा नाकामा २५ हजारलाई खाना, पानी र मास्क वितरण

सिराज खान
नेपालगञ्ज, भदौ ९ गते । कोभिड-१९ महामारीका कारण भारतबाट स्वदेश फर्किएका २५ हजारभन्दा बढी नागरिकलाई जमुनाहा नाकामा तयारी खाना, पानी र मास्क वितरण गरिएको छ ।
महामारीले गर्दा भारतमा रोजगारी गुमेपछि ठूलो सङ्ख्यामा नेपालीहरू स्वदेश फर्किन थालेपछि गत जेठ २२ गतेबाट यहाँस्थित नेपाल भारत नाका जमुनाहामा तयारी खाना, पानी र मास्क वितरण कार्य शुरु गरिएको थियो ।
नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरले गत ८१ दिनको अवधिमा भारतबाट फर्किएका २५ हजार १२८ जना नागरिकलाई जमुनाहस्थित होल्डिङ सेन्टरमा तयारी खाना, पानी र मास्क वितरण गरिएको बताउनुभयो ।
उहाँले तीन महिनाअघिको समयमा भारतबाट फर्किनेहरू लामो यात्रा गरेर भोकै प्यासै र मास्कसमेत नलगाएर फर्किने गरेकोले उनीहरूलाई सहज होस् भनेर खाना, पानी र मास्क वितरण शुरु गरिएको जनाउनुभयो ।
उपप्रमुख थापामगरले जमुनाहमा रहेको होल्डिङ सेन्टरलाई व्यवस्थित गरेर भारतबाट फर्किनेहरूलाई नाकाबाटै सम्बन्धित पालिकामा पठाउन थालिएपछि कोभिड १९ को जोखिम पनि घटेको बताउनुभयो ।
त्यसभन्दा पहिले नाकामा राम्रो व्यवस्थापन गर्न नसक्दा भारतबाट फर्किनेहरूले सिमानादेखि घर पुग्दासम्म ठूलो सास्ती भोग्नुपरेको थियो ।
जमुनाह नाकामा रहेको इलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख विष्णु गिरीले होल्डिङ सेन्टर स्थापना गरेर उक्त सेन्टरबाट खाना, पानी र मास्क वितरण गर्न थालिएपछि भारतबाट आउनेहरूको व्यवस्थापन सहज बनेको बताउनुभयो ।
भारतबाट आउने हरेक नागरिकलाई नाकामा एक प्याकेट तयारी खाना, दुई प्याकेट बिस्कुट, एउटा स्याउ, एक बोतल पानी, एक थान मास्क र अन्य जिल्लामा जाने सानो गाडीमा एउटा पानीको जार र ठूलो गाडीमा दुई वटा पानीको जार वितरण गरिँदैआएको थियो ।
पछिल्लो समयमा आएर नेपाल फर्किनेहरू घट्दैगएपछि हाललाई सो कार्य रोकिएको उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरका अनुसार वितरण कार्य प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबले गर्दैआएको थियो ।