जिल्लाबाहिरबाट आउने कर्मचारीसमेत अनिवार्य क्वारेन्टाइनमा
भक्तिविलास पोखरेल
गाईघाट, भदौ १० गते । कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि जिल्ला प्रशासन कार्यालय, उदयपुरले जिल्लाबाहिर गएर आउने निजामती कर्मचारीलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने निणय गरेको छ ।
जिल्ला कोरोना सङ्कट व्यवस्थापन केन्द्र उदयपुरको बैठकले कर्मचारीलाई १५ दिन अनिवार्य क्वारेन्टाइनमा राख्ने निर्णय गरेको उदयपुरका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डले बताउनुभयो । अति आवश्यक काममा बाहेकका कर्मचारीलाई बिदा वा काज नदिनेसमेत निर्णय गरिएको उहाँले बताउनुभयो ।
घर बिदाबाट फर्किएका र सरुवा भई आउने कर्मचारीलाई कार्यालय प्रमुखले अनिवार्य रुपमा कम्तीमा दुई सातासम्म क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाउने गरी निर्णय भएको प्रजिअ पाण्डेले बताउनुभयो । यसअघि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले मात्र घर बिदा र सरुवा भई आएकाहरूलाई क्वारेन्टाइनमा राख्ने गरेको थियो ।
बाहिर जिल्लाबाट मान्छे उदयपुर छिर्न नदिन बेलका नगरपालिकाको चतरा र फत्तेपुर, त्रियुगा नगरपालिकाको लालपत्ता र कटारी नगरपालिकाको मिर्चैया नाकाहरूमा उच्च सुरक्षा सतर्कता अपनाइएको र सर्वसाधारणको आवतजावतमा कडाइ गरिएको पनि प्रजिअ पाण्डेले बताउनुभयो ।
छिमेकी जिल्लाहरू सिरहा, सप्तरी, मोरङ र सुनसरीमा सङ्क्रमित बढ्दोक्रममा रहेकोले उदयपुरमा सङ्क्रमण बढ्न नदिन यस्तो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ । समुदायस्तरमा कोरोना सङ्क्रमण देखिएपछि उदयपुरको त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिकामा साउन २९ गतेदेखि भदौ १२ गतेसम्मे निषेधाज्ञा जारी गरिएको छ ।
कोरोना भाईरसको संक्रमण एकिन गर्न कन्ट्रायाक्ट ट्रेसिङमा परेका र स्वाब दिएका व्यक्तिहरुको रिर्पोट नआएसम्म घरबाट बाहिर निस्कन नपाउने र कट्रायाक्ट ट्रेसिङमा परेका र स्वाब दिएका व्यक्तिहरु होम क्वारेन्टाईनमा नबसी बाहिर निस्केमा सङ्क्रमण रोग ऐन २०२० वमोजिम कारवाही गरिने प्रजिअ पाण्डेले बताउनुभयो ।