प्रदेश | पढ्नै पर्ने |

कोरोनाले सिकार पर्यटन रोकियो, मानव–वन्यजन्तु द्वन्द्व घट्यो

नवीन शिशिर विक
बागलुङ, भदौ ११ गते । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा प्रत्येक वर्ष दुई याममा नाहुर र झारलको शिकार हुन्छ । पहिलो सिजनको सिकार कात्तिक– मङ्सिर हो भने दोस्रो यामको सिकार चैत्र–वैशाखको २१ दिनसम्म सञ्चालन हुन्छ । गत आर्थिक वर्षमा पहिलो याम (कात्र्तिक–मङ्सिर) मा ११ वटा नाउर र झारलको सिकार भए पनि दोस्रो सिजनको सिकार स्थिगत भयो ।

कोरोना सङ्क्रमण रोकथाम तथा न्यूनीकरणको लागि सरकारले चैत्र ४ गतेदेखि अन्तर्राष्ट्रिय उडान बन्द गरेपछि विदेशी सिकारीहरू सिकार आरक्षण पुग्न नसकेको कारण सिकार स्थिगित भएको हो ।  सिकार आरक्षले दोस्रो यामको लागि सात नाउर र पाँच झारल गरी १२ वन्यजन्तु सिकार गर्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बोलपत्र खुला गरेको थियोे । बन्दाबन्दीले सिकारी नआउँदा साढे एक करोड राजश्व गुमे पनि झारल र नाहुरको सिकार नहुँदा आरक्ष क्षेत्रमा मानव–वन्य जन्तुबीचको द्वन्द्व कम भएको सहायक संरक्षण अधिकृत रमेशकुमार यादवले जानकारी दिनुभयो ।

‘दोस्रो यामको लागि तयार भएका झारल र नाहुरको सिकार नहुँदा मांसहारी जनावरलाई आहारा पुगेको छ’ उहाँले भन्नुभयो, ‘खानाको खोजीमा स्थानीयको गोठमा पुग्ने हिमचितुवा वनमै रमाएका छन् ।’ सिकारीको टोली वनमा हिँडडुल गर्दा हिमचितुवा सिकार आरक्षण छेउछाउमा रहेको गोठमा पुगेर भेडाबाख्रा तथा गाईगोरुलाई सिकार बनाउने गरेको सहायक संरक्षण अधिकृत यादवको भनाइ छ ।

प्रजनन योग्य झारल र नाहुरको सिकार नहुँदा सङ्ख्यामा वृद्धि भएको हुन सक्ने उहाँको भनाइ छ । सन् २०१६ को गणना अनुसार सिकार आरक्षणमा दुई हजार दुई सय नाउर र तीन हजार ६५ झारल रहेका छन् । प्रत्येक पाँच-पाँच वर्षमा वन्यजन्तुको गणना हुने गरेको छ ।

बागलुङ, म्याग्दी र रुकुमको उच्च पहाडी र हिमाली भु–भागमा अवस्थित निकुञ्ज वैधानिक सिकारको लागि चर्चित छ । सौखिन र खर्चिला विदेशी सिकारी ढोरपाटन आउने गर्छन । एउटै सिकारले एक याममा ३० देखि ३५ लाखसम्म सिकारमा खर्चने गरेका छन् । साहसिक यात्रा र रोमाञ्चक सिकार अनुभवका लागि ढोरपाटन विदेशीको रोजाइमा पर्ने गरेको आरक्षका वन रक्षक वीरबहादुर थापाको भनाइ छ ।

सिकार अनुमति प्राप्त कम्पनीले १५ दिनको अवधिमा आरक्षबाट खटिएका कर्मचारीको प्रत्यक्ष निगरानीमा एक भाले वा एक झारल मात्र सिकार गर्न पाउँछन् । वि.स २०४२ सालमा स्थापना भएको आरक्षणमा सिकारका लागि अमेरिका, रसिया, स्पेन, फ्रान्सलगायत मुलुकबाट व्यावसायिक सिकारी आउने गरेका छन् ।

सहायक संरक्षण अधिकृत यादवका अनुसार हिमालयन सफारिज, ग्लोबल सफारिज, नेपाल वाइल्ड लाइफ एडभेन्चर, हिमालय आउटफिटर, ट्रयाक एन्ड ट्रेल्स, नेपाल वाइल्ड फाई, समारीलगायत कम्पनीमार्फत सिकारको लागि सिकारी आउने गरेका छन् । आरक्षको वार्षे, फागुने, घुस्तुङ, दोगाडी, र सुनदह सिकार ब्लकको रुपमा तोकिएको छ ।