कर्मचारीलाई कोरोनाः काठेखोला गाउँपालिकाको सम्पूर्ण सेवा बन्द
नवीन शिशिर विक
बागलुङ, भदौ ११ गते । बागलुङको काठेखोला गाउँपालिकामा कार्यरत एक कर्मचारीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि गाउँपालिकाको कार्यालय एक साता बन्द हुने भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पीसीआर परीक्षण गर्दा बिहीबार गाउँपालिकामा कार्यरत ३१ वर्षीय पुरुष इञ्जिनियरलाई कोरोना पुष्टि भएपछि भदौ १७ गतेसम्म कार्यालय बन्द गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष अमरबहादुर थापाले जानकारी दिनुभयो ।
कर्मचारीलाई नै कोरोना देखिएकाले उहाँको सम्पर्कमा आएका अन्य कर्मचारी तथा व्यक्तिको पीसीआर परीक्षण र सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्न कार्यालय बन्द गर्ने निर्णय गरेको बताउनुभयो । एक सातासम्म गाउँपालिका कार्यालयबाट प्रवाह हुने सबै सेवा बन्द हुनेछ ।
सङ्क्रमित कर्मचारी भदौ २ गते काठमाडौँबाट फर्किर क्वाटरमा बस्नुभएको थियो । बिहीबार काठेखोलामा कर्मचारीसहित दुई जनालाई कोरोना पुष्टि भएको थियो । भारतदेखि आएर भीमसेन प्राविको क्वारेन्टाइनमा बस्नुभएका काठेखोला–१ का ३४ वर्षीय पुरुषलाई पनि सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमित दुवै जनालाई बागलुङ बजारमा रहेको आइसोलेसनमा पठाइने तयारी गरिएको गाउँपालिका अध्यक्ष थापाले बताउनुभयो ।