लमजुङमा थप चार जनामा कोरोना सङ्क्रमण पुष्टि
बेलिना थापा
लमजुङ, भदौ ११ गते । लमजुङमा समुदायमै कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण फैलिएको छ । बिहीबारसम्म सङ्क्रमितको सङ्ख्या झण्डै डेढ सय जना पुगेको छ । बिहीबार चार जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १४३ पुगेको हो ।
लमजुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माका अनुसार बिहीबार एक जना स्वास्थ्यकर्मी, एक जना कर्मचारी र दुई जना नेपाली सेनामा कोरोना पुष्टि भएको छ । कोरोना भाइरस परीक्षणका लागि थ्रोट स्वाब पोखरा पठाइएकाे थियाे । सङ्क्रमण पुष्टि हुनेमा सुन्दरबजार नगरपालिका-९, सिउँडीबारस्थित नेपाली सेनाको कृषि तथा व्यावसायिक तालिम केन्द्रमा कार्यरत २२ र ३७ वर्षीय पुरुष छन् ।
क्व्होलासोंथर गाउँपालिकामा कार्यरत कर्मचारी २६ वर्षीय पुरुष, बेंसीसहर नगरपालिका-७ स्थित लमजुङ मोडल हस्पिटल प्रालिमा कार्यरत २४ वर्षीया महिला स्वास्थ्यकर्मी रहेका छन् । उक्त हस्पिटलमा नयाँ बिरामी भर्नामा रोक लगाएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताउनुभयो । उहाँँका अनुसार समुदायस्तरमा कोरोना सङ्क्रमण भए/नभएको बारे जानकारी लिन नमुना थ्रोट स्वाब सङ्कलन गरिएको कर्मचारी र स्वास्थ्यकर्मीमा कोरोना देखिएको हो । यसअघि क्वारेन्टाइनमा बस्नेहरूमा मात्र पोजिटिभ देखिएपनि पछिल्लो समय समुदायस्तरमै कोरोना देखिन थालेको छ । समुदायमै कोरोना सङ्क्रमण फैलिएपछि प्रशासनले उच्च सतकर्ता अपनाउन नागरिकलाई अनुरोध गरेको छ ।
क्व्होलासोंथर गाउँपालिका अध्यक्ष प्रेमबहादुर घलेले कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि गाउँपालिकाको वडा नं. १ देखि ४ सम्म (मिदिमखोला वारी) सिल गरिएको बताउनुभयो । उहाँले कार्यालय पनि एक सातासम्म बन्द गरिएको बताउनुभयो । उहाँका अनुसार एक सातासम्म बाग्लुङपानीदेखि भुजुङसम्मका स्थानीयलाई बाहिर जान र बाह्य व्यक्तिलाई भित्र प्रवेशमा रोक लगाएको छ । लमजुङमा बुधबार मात्रै २० जना नेपाली सेना, २ जना बैङ्कका कर्मचारी र एकजना रेष्टुरेष्ट व्यवसायीमा कोरोना देखिएको थियो ।
लमजुङमा कोरोना सङ्क्रमित हुनेमा १० महिला र १३३ पुरुष छन् । महिला नाै र १०२ पुरुष गरी १११ जना निको भएर घर फर्किएका छन् । महिला एक र पुरुष ३१ जना गरी ३२ जना आइसोलेसनमा रहेका छन् ।