धरानमा शुक्रबार बिहानै दुई जना कोरोना सङ्क्रमितको मृत्यु
नवराज कट्टेल, विराटनगर/विष्णुप्रसाद पोखरेल, झापा
विराटनगर, भदौ १२ गते । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारत कोरोना सङ्क्रमित दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा कमल गाउँपालिका–३ निवासी ८३ वर्षीय पुरुष र मोरङको बेलबारी नगरपालिका–५ निवासी ५६ वर्षीया महिला हुनुहुन्छ ।
प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार झापा कमल गाउँपालिकाका पुरुषको शुक्रबार बिहान ३ः४५ बजे र बेलबारी निवासी महिलाको ३ः१४ बजे मृत्यु भएको हो । खोकी, श्वास फेर्न समस्या र ज्वरो आएपछि बी एण्ड सी टिचिङ अस्पतालमा भर्ना हुनुभएका दमकका पुरुषमा भदौ ३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
कोरोना सङ्क्रमण पुष्टि भएपछि बीपीमा ३ गते नै भर्ना गरिएको थियो । मिर्गौलाको दीर्घरोगी पुरुषमा उच्च रक्तचाप, मधुमेह र अल्प रक्त कोशिकाको समस्यासमेत रहेको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।
यसैगरी मोरङ बेलबारी–५ की महिला कोशी अस्पताल विराटनगरबाट धरानस्थित बीपीमा ९ गते रिफर गरिएको थियो । श्वास फेर्न समस्या र ज्वरो आएपछि कोशीमा भर्ना हुनुभएकी उहाँमा कोरोना सङ्क्रमणसमेत भदौ ९ गते नै पुष्टि थियो । बीपीमा उपचारत दुवै जनाको शुक्रबार बिहान निधन भएपछि शव व्यवस्थापनको काम नियमानुसार अगाडि बढेको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो । योसँगै प्रदेश १ मा मृत्यु हुनेको सङ्ख्या २६ पुगेको छ । त्यसमध्ये पाँच महिना १५ जना पुरुष गरी २० जना प्रदेश १ वासी र एक महिला ५ पुरुष प्रदेश २ का हुनुहुन्छ ।