प्रदेश |

लमजुङमा पत्रकारसहित दुई जनामा कोरोना सङ्क्रमण

बेलिना थापा

लमजुङ, भदौ १२ गते । लमजुङमा शुक्रबार एक पत्रकारसहित दुई जनामा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण पुष्टि भएको छ । कन्ट्याक्ट ट्रेसिङको आधारमा थ्रोट स्वाब सङ्कलन गरी पोखरा पठाइएका लमजुङमा एक रेडियोमा कार्यरत बेंसीसहर नगरपालिका-८ बस्ने २७ वर्षीय पुरुष र क्वारेन्टाइनमा बसेका एक जनामा कोरोना पुष्टि भएको हो ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माका अनुसार ती पत्रकार करिब एक हप्ताअघि रुघाखोकी, ज्वरो आउने समस्या भएपछि बेंसीसहरस्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचारका लागि जानुभएकाे थियाे । औषधी उपचारपछि घर फर्किनुभएकाे उहाँको थ्रोट स्वाब सङ्कलन गरी क्षयरोग उपचार केन्द्र पोखरा लगिएकोमा शुक्रबार पीसीआर रिपोर्ट पोजेटिभ आएको हो ।

उहाँसँगै शुक्रबार कोरोना सङ्क्रमण देखिएकोमा मर्स्याङदी गाउँपालिका-४ का ३१ बर्षीया महिला छन् । उहाँ मध्यनेपाल नगरपालिकाको इशानेश्वर क्याम्पसको क्वारेन्टाइनमा हुनुहुन्थ्याे । उहाँ भारतबाट आएको बुझिएको छ ।

लमजुङमा कोरोना सङ्क्रमतिको सङ्ख्या १४५ पुगेको छ । महिला ११ जना र पुरुष १३४ जना छन् । महिला नाै र १०२ पुरुष गरी १११ जना निको भएर घर फर्किसकेका छन् । हाल आइसाेलेसनमा दुई महिला र ३२ पुरुष गरी ३४ जना रहेका छन् ।