प्रदेश |

लमजुङमा तीन प्रहरीसहित आठ जनामा कोरोना सङ्क्रमण

बेलिना थापा

लमजुङ, भदौ १५ गते । लमजुङमा सोमबार तीन प्रहरीसहित आठ जनामा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण पुष्टि भएको छ । कन्ट्याक्छ ट्रेसिङको आधारमा स्वाब सङ्कलन गरिएका तीन प्रहरी, बैङ्कका कर्मचारी, बेंसीशहर नगरपालिकाका कर्मचारी, लमजुङ मोडल हस्पिटलका कर्मचारी र स्थानीयमा कोरोना सङ्क्रमण भएको हो ।

लमजुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माका अनुसार सोमबार सङ्क्रमित हुनेमा जिल्ला प्रहरी कार्यालय लमजुङमा कार्यरत ३५ वर्षीया महिला, २२ वर्षीय पुरुष र २३ वर्षीय पुरुष रहेका छन् । यस्तै, बेंसीशहर नगरपालिका-८ का २७ वर्षीय महिला, बेंसीशहर नगरपालिका-७ का २५ वर्षीय, ३२ वर्षीय र २० वर्षीय महिला र बेंसीशहर नगरपालिका-३ का ३२ वर्षीय पुरुष रहेका छन् ।

थ्रोट स्वाब सङ्कलन गरी पीसीआर परीक्षणका लागि पोखरा पठाइएका उनीहरूको रिपोर्ट पोजिटिभ आएपछि उनीहरूलाई आइसोलेसनमा लगिएको प्रजिअ शर्माले बताउनुभयो । लमजुङमा कोरोना सङ्क्रमितको सङ्ख्या १८३ पुगेको छ । महिला १९ र पुरुष १६४ जना छन् । महिला नाै र पुरुष १०४ गरी ११३ जना निको भएर घर फर्किसकेका छन् । महिला १० र पुरुष ६० जना गरी ७० जना आइसोलेसनमा रहेका छन् ।