प्रदेश |

बाँकेमा कोरोनामुक्त हुने दर ७१ प्रतिशत भन्दा बढि, नौ सय ७० निको भए

सिराज खान

नेपालगञ्ज, भदौ २६ गते । बाँके जिल्लामा पछिल्लो समयमा संक्रमित हुनेको संख्या बढ्दै जाँदा संक्रमणमुक्त हुने दर पनि उच्च रहेको छ । जिल्लामा संक्रमितको निको हुने दर ७१.११ प्रतिशत रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार हालसम्म बाँकेमा एक हजार ३ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा नौ सय ७० जना संक्रमणमुक्त भै निको भएर घर फर्किसकेका छन् ।

बाँकेका कोराना सम्पर्क व्यक्ति नरेश श्रेष्ठले जिल्लामा संक्रमणमुक्त हुनेहरुको प्रतिशत निकै उच्च रहेको जनाउँदै हालसम्म ७१.११ प्रतिशत संक्रमित निको भएर घर पुगिसकेको बताउनुभयो ।

उहाँले जिल्लामा प्रकोप दर हेर्ने हो भने ०.२३ प्रतिशत रहेको र मृत्युदर ०.५९ प्रतिशत मात्र रहेको जनाउँदै यो तुलनामा निको हुने दर धेरै उच्च रहेको जानकारी दिनुभयो । 

गत केही दिन यता आएर निको हुने दर निकै बृद्धि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । शुक्रबार पनि जिल्लाका विभिन्न आइसोलेसन सेन्टर र अस्पतालबाट १९ जना कोरोनामुक्त भई घर फर्किएका छन् ।

शुक्रबार १९ जना डिस्चार्ज भएपछि कोरोना जित्नेको संख्या जिल्लामा ९७० पुगेको हो । शुक्रवार भेरी अस्पताल नेपालगञ्जमा कार्यरत एक चिकित्सक र एक नर्स, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कार्यरत स्वास्थ्यकर्मीसँगै १९ जना निको भएर फर्किएका छन् ।

स्वास्थ्य कार्यालयका अनुसार बाँकेमा हालसम्म एक हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ, ति मध्ये आठ जनाको मृत्यु भैसकेको छ । अझैपनि जिल्लाको विभिन्न स्थानमा रहेका आइसोलेसनमा ३९१ जना संक्रमितले स्वास्थ्य लाभ गरिरहेका छन् ।