झापामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि
लीला झापाली
बिर्तामोड, भदौ २६ गते । झापामा आज थप तीन स्थानीय तहमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार बिर्तामोडमा दुई जना, मेचीनगरमा तीन जना र दमकमा नौ जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमितमध्ये दुई जना भारतीय नागरिक छन् भने १२ जना स्थानीयमा कोरोना पुष्टि भएको चौलागाईले जानकारी दिनुभयो ।
स्वास्थ्य कार्यालय झापाका अनुसार बिहीवारसम्म झापामा २२ हजार ८ सय १२ जनाको स्वाब संकलन भएको छ ।
जिल्लामा तीन जनाको कोरोनाकै कारण मृत्यु भएको छ भने जम्मा संक्रमितको संख्या सात सय ३९ पुगेको छ । संक्रमित मध्ये पाँच सय २५ जना उपचारपछि घर फर्किएका छन् ।