प्रदेश |

कामको खोजीमा भौंतारिदै दैनिक ज्यालादारी मजदुर

धीरेन्द्रप्रसाद साह
राजविराज, असोज १५ गते । एकाबिहानै ग्रामिण बस्तीबाट पैदल, साइकल चढेर राजविराज नगरको मुटु मानिने गजेन्द्र चोक आइपुगेको एक घुइँचो देखिन्छ । प्रत्येक बिहान उक्त स्थानमा घुइँचो लाग्ने गर्दछ ।
नियमित रोजगारीको खोजीमा भेला हुने मजदुरहरुको घुइँचो लकडाउन तथा विषेधाज्ञा हटेपछि बाक्लो हुन थालेको छ । घरको गर्जो टार्ने, छोराछोरीको लालनपालन र छाक टार्न समस्याले पिरोलिएका ती मजदुरलाई काममा लगाउन लैजाने साहुको खोजीमा त्यहाँ घुइँचो लाग्ने गरेको छ । कोरोना रोगभन्दा भोकको चिन्ताले अबेरसम्म काममा लगाउन नआएपछि उनीहरु निकै चिन्तित अवस्थामा कयौ दिन रित्तै घर फर्किने गरेको बताइन्छ ।
गजेन्द्र चोकको दक्षिणपट्टि सडकछेउमा कामका लागि ती मजदुरहरु एकाबिहानै भेला हुने वर्षौ भइसकेको छ । जिल्लाको विभिन्न ग्रामिण तथा शहरी क्षेत्रका मजदुरले दैनिक कामको खोजीमा भेला भए पनि ७५ प्रतिशतले सधै काम नपाएर बेलुका खाली हात घर फर्किनुपरेको बाध्यता रहेको रुपनी गाउँपालिका २ का मजदुर होमनाथ यादवले पीडा सुनाउनुभयो ।
करेसाबारीको खनजोत, घर निर्माण, सरसफाइ  साधारण कामका लागि आवश्यक मजदुर खोज्न कतै नभौतारिकन सिधै गजेन्द्र चोक पुग्ने गरिन्छ । वर्षौदेखि दैनिक मजदुर पाउने स्थानको रुपमा परिचित त्यहाँ बिहान ११ बजेसम्म मजदुरहरु कामका लागि साहुलाई पर्खेर बस्ने गर्छन् । मजदुर लिन आउने साहुसँग कामको प्रकृति अनुसार दामको मोलतोल गरेर बेलुका ५ बजेसम्म काम गरेर रु. पाँच/सात सय लिने गरेको अर्का मजदुर रामएकबाल यादवले बताउनुभयो । घरबाटै खाजा खाएर आउने गरेको भन्दै दिउँसो १/२ बजे खानाको लागि एक घण्टा छुट्टि पाउने गरेको भन्दै उहाँले भन्नुभयो, खाजा, खाना बिना दिनभरी काम गरे वापत रु.पाँच–साथ सय पाउँछौ ।
उनीहरु सधै काम पाउँदैनन् । कहिलेकाहीँ सीप नजानेका कामका लागि साहुहरु मजदुर लिन आउने गरेको कारण प्रायजसो हामी काम पाउँदैनौ भन्दै उहाँले भन्नुभयो, महिनामा मोटामोटी १० दिन काम पाउछौ, २० दिन खाली हात फर्केर जान्छौ । यसरी कामका लागि भेला हुने मजदुरको संख्याको विवरण  छैन । औषतमा दैनिक १५०/२०० मजदुर त्यहाँ कामका लागि भेला हुने गरेको देखिन्छ । काम पाएका दिन चामल, दाल, तरकारी किने घर फर्किदा घरपरिवार, छोराछोरी खुशी हुने तर काम नपाएका दिन रितै घर जाँदा साह्रै दुःख लाग्ने गरेको अनुभूति सुनाउँदै मजदुर बन्ठु सदाले भन्नुभयो, हामी जस्ता मजदुरका लागि अहिलेसम्म कसैले सोचेको छैन । नेताहरु भोटका लागि खुट्टासम्म ढोग्न आउँछ, उहिले जे–जे भन्छु, सबै मान्न तयार हुन्छ तर जितेर गएपछि फर्केर पनि कोही आउँदैनन ।
जिल्लामा उद्योग, कलकारखाना, र कामका अवसरहरु पर्याप्त नरहेको कारण यस्ता मजदुरहरु रोजीरोटीको लागि भौतारिदै आएका छन । असुरक्षित, अव्यवस्थित एवं जोखिम समेत मोलेर काम गर्नु परेको यी मजदुरहरुमध्ये अधिकाँशको आफ्नो घरघडेरी छैन । जग्गाजमिन तथा अन्य आम्दानीको स्रोत नहुँदा व्यापार व्यवसायी वा रोजगारीका लागि अन्यत्र जान रुपियाँ चाहिने हुँदा कसैले ऋणसम्म दिदैनन् ।