प्रदेश | समाज |

जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीकाे भीड, सामाजिक दूरीकाे पालना भएन

शिवशङ्कर मिश्र
बारा, असोज २० गते । निषेधाज्ञा खुकुलो भएसँगै अहिले जिल्ला प्रशासन कार्यालय बारामा सेवाग्राहीको भीड लाग्न थालेको छ । आउनै लागेको दशैँमा भीडभाड हुन दिनु हुँदैन भन्ने जिल्ला प्रशासन कार्यालय बारा आफैँ भिडभाडको सिकारबाट कोरोना महामारीको जोखिमबाट गुज्रिरहेको छ ।

अहिले दैनिक सेवाग्रहीहरूको उल्लेख्य भीड हुने गरेको छ, सामाजिक दूरी पालना कसैले गरेकाे देखिँदैन ।  कार्यालयमा देखिएको भीडमा अन्य सेवाग्राहीभन्दा अधिकांश एसईई उत्तीर्ण गरेका विद्यार्थीहरू रहेका छन् ।

एसईईको नतिजा आएपछि सिटिईभिटीमा फारम भर्न, मधेशी प्रमाणित गराउनेहरूको बढी भीड एक्कासि अन्य दिनको तुलनामा अहिले बढेको बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले बताउनुभयो । हालका दिनमा जिल्ला प्रशासन कार्यालयमा विभिन्न काम विशेषले हजार बढी सेवाग्रही आउने गरेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।

'जिल्ला प्रशासनले आफूले निर्देशन गर्दै आएको सोसल डिस्टेन्सिङ्गको आफैँ पालना गर्न सकेको छैन', कार्यालयमा काम गराउन आएका कोल्हवी नगरपालिका वडा नम्बर–४ भौलर टोलका चन्द्रजीत उपाध्यायले गोरखापत्रसँग बताउनुभयो ।

'सरकारले सिफारिस गरेकाे नियमकाे आफ्नै कार्यालयमा पालना भएकाे देखिएन' उहाँले भन्नुभयो । प्रशासन कार्यालयका कर्मचारी, सुरक्षाकर्मीले समेत भीड नियन्त्रण गर्न चासो नदिएको प्रसौनी गाउँपालिका वडा नम्बर–२ नौतन टोलका आसमह्मद हवारीले गुनासो गर्नुभयो । प्रशासन कार्यालयको मूल गेटमै सेनिटाईजर मेसिन बिग्रेको अवस्थामा रहेको तथा साबुन पानीलगायत हात धुने कुनै साधन नरहेको गेटमा कार्यरत सुरक्षा गार्डले जानकारी दिनुभयो । सेवा लिन आउने सेवाग्रहीहरू भगवान भराेसामा आउने जाने गरेको उहाँले बताउनुभयो ।