सुरक्षाका लागि लुम्बिनी क्षेत्रमा राखियो दुईसय सीसी क्यामेरा
लक्ष्मण पौडेल
भैरहवा, कात्तिक १३ गते । बुद्ध जन्मस्थल लुम्बिनीमा रहेका महत्वपूर्ण क्षेत्रको सुरक्षार्थ सीसी क्यामेरा जडान गरिएको छ। पवित्र उद्यान, बिहार क्षेत्र र लुम्बिनीग्रामका विभिन्न ठाउँको सुरक्षा गर्न भन्दै सीसी क्यामेरा र पीटीजेड क्यामेरा जडान गरिएको हो । लुम्बिनी विकास कोषका अनुसार लुम्बिनी उद्यानमा १७५ वटा सीसी क्यामेरा र २५ वटा पीटीजेड क्यामेरा जडान गरिएको छ ।
पीटीजेड क्यामेराले टाढाको बस्तु फोकस र जुम गरेर नजिक हेर्न मिल्छ । यसअघि नै अति संवेदनशील ठाउँमा सीसी क्यामेरा जडान गरिएको भए पनि सबै महत्वपूर्ण स्थानमा भने क्यामेरा थिएन ।
अहिले एकै ठाउँबाट नियन्त्रण हुने गरी क्यामेरा जोडिएको हो । फाइबर र वायरलेस माध्यमबाट सीसी क्यामेरा जडान गरी अब चौबिसै घण्टा लुम्बिनी क्षेत्रको निगरानी गरिने छ । लुम्बिनी विकास कोषका सूचना प्रविधि इन्जिनियर दिवाकर गौतमले लुम्बिनी उद्यानभित्रको सुरक्षा अब प्रविधिमैत्री भएको बताउनुभयो ।
सबै सीसी क्यामेराको कन्ट्रोल विकास कोषमा राखिएको आइटी रुमले गरिरहेको हुन्छ । कन्ट्रोल रुममा नेपाल प्रहरी र लुम्बिनी विकास कोषका सुरक्षाकर्मीहरुले क्यामेरा मार्फत मोनिटरमा लुम्बिनी क्षेत्रको गतिविधि नियाल्छन् ।
“हामीले लुम्बिनीका हरेक गतिविधि नियाल्छौं । कहाँ के हुन्छ, भए गरेका गतिविधि रेकर्ड गरेर राख्छौं । कुनै घटना घट्यो वा जोखिम क्षेत्र भएजस्तो लाग्यो भने तुरुन्तै सुरक्षाकर्मी परिचालनमा हुन्छ”–गौतमले भन्नुभयो ।
लुम्बिनीमा सशस्त्र प्रहरी, नेपाल प्रहरी, पर्यटक प्रहरी, लुम्बिनी विकास कोषका सुरक्षा कर्मचारी र वीर गोर्खा सेक्युरिटी कम्पनीको सुरक्षाकर्मी सुरक्षामा खटिएका छन् । त्यस्तै, लुम्बिनीकै सुरक्षालाई प्राथमिकता दिएर सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षकको कमान्डमा सशस्त्र प्रहरीको गुल्म लुम्बिनीमा छ ।
लुम्बिनीमा यति धेरै सुरक्षाकर्मी हुँदा समेत आपसी समन्वय नहुँदा बेलाबखत समस्या आउने गरेको छ । योजना प्रमुख सरोज भट्टराईले लुम्बिनी पूर्णतया डिजिटल सुरक्षा प्रणालीभित्र भएको बताउँदै सुरक्षाकर्मी पनि उत्तिकै आवश्यक रहेको बताउनुभयो । “हामी हरेक सेकेन्डका गतिविधिको निगरानी गर्नेगरी सुरक्षा व्यवस्था मजबुत गराएका छौंं । निगरानीमा रहेको सुरक्षालाई थप मजबुत पार्नुपर्ने हुन्छ”–राईले भन्नुभयो ।
प्रोक्योरमेन्ट अफ ट्रान्समिसन ब्याकबोन एण्ड आईटी इन्फ्राक्स्टक्चर परियोजना अन्तर्गत सीसी क्यामेरा जडान भएको हो । कन्ट्रोल रूममा १२ वटा टिभी स्क्रिन छन् । ती स्क्रिनमार्फत् लुम्बिनी क्षेत्रको निगरानी गरिएको हो ।
आर्थिक वर्ष ०७४÷०७५ मा सीसी क्यामेरा जडानको काम सुरु भएको थियो । तीन वर्ष लगाएर वेभ–म्याक्स जेभिले क्यामेरा जडानको काम सम्पन्न गरेको हो । परियोजना अन्तर्गत अप्टिकल फाईभर बिछ्याउने, सर्वलियन प्रणाली, डाटा सेन्टर स्थापना, वायरलेस नेटवर्ट, सोलार ब्याकअप, डिजिटल साईनबोर्ड छन् ।