प्रदेश |

कागलाई सेलरोटी दिएर सुदूरपश्चिममा आज नरहरी मनाईँदै

गोकर्ण दयाल
बैतडी, माघ १ गते । कागलाई सेलरोटी दिएर आज सुदूरपश्चिममा नरहरी पर्व (माघे संक्रान्ति) धुमधामका साथ मनाईदै छ । विहानै उठेर घर परिवारका सदस्यले नजिको कुवा र धारामा स्नान गरेर कागलाई सेलरोटी दिएर नरहरी पर्व मनाउने चलन रहेको छ ।

नुहाईधुई गरेर बालकालिकाले ‘का कौ का मेरो सेल खा !’ भन्दै काग बोलाउने चलन छ । नरहरीका दिन मीठो मसिनो खानाको परिकारमा मासबाट बनाईने बटुक, चामलको पीठो र घ्यूबाट बन्ने माणा, सेल, पुरी, तिलको लड्डू, तरुल खाने चलन रहे पनि हलियाका लागि यी परिकार आकाशशाके फल जस्तै रहेको हलिया अगुवा राजुराम भुलले बताउनुभयो ।

नरहरी पर्व (माघे संक्रान्ति) देखि सूर्य मकर राशीमा प्रवेश गर्ने भएकोले माघ महिनालाई महात्म्य महिनाका रुपमा मनाउने चलन अनुसार सुदूरपश्चिममा माघ महिनाको पहिलो दिनलाई नरहरी पर्वका रुपमा मनाउने चलन रहेको स्थानीय संस्कृतिका ज्ञाता चन्द्रमोहन तिवारीले बताउनुभयो ।

माघ महिनालाई धर्मकर्म गर्ने महिनाका रुपमा मान्ने चलन रहेको छ । नरहरीका दिन स्थानीय मन्दिर र शक्तिपीठामा भक्तजनको घुँईचो समेत लागेको छ ।