सम्झौता अघिनै सकियो खानोपानीको काम
भरतपुर,फागुन २६ गते । भरतपुर महानगरपालिका–१२ मा धनगढा सहलगानी खानेपानी आयोजनाको काम निर्माण अवधिभन्दा दुई महिना अगाडि नै सकिएको छ । सो आयोजनाको मङ्गलबार भरतपुर महानगर प्रमुख रेनु दाहालले उद्घाटन गर्नुभयो ।
नेपाल सरकार भरतपुर खानेपानी व्यवस्थापन बोर्ड, सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, भरतपुर महानगर र उपभोक्ताको समेतको संयुक्त लगानीमा निर्मित खानेपानी आयोजनाको निर्माणको जिम्मा शर्मा सगरमाथा भीमेश्वर जेभीले लिएको थियो । दुई हजार ११९ घरधुरीका १४ हजार ५६३ जनालाई स्वच्छ खानेपानी प्रदान गर्ने उद्देश्यले खानेपानी आयोजना निर्माण थालिएको भरतपुर खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक प्रजापति दाहालले बताउनुभयो ।
यस आयोजना निर्माणका लागि रु २१ करोड ७७ लाख लागत अनुमान भएकामा निर्माण व्यवसायीले रु १२ करोड ७७ लाखमा ठेक्का लिएर काम शुरु गरी तोकिएको अवधिभन्दा दुई महिना अगाडि नै काम सकेको उहाँले बताउनुभयो । आयोजना निर्माण पूरा भई पानी वितरण गरिरहेको र खानेपानी पाइप मर्मत र सञ्चालनमा अहिले चुनौती भएको उहाँको भनाइ छ । सडक र नाला विस्तारका क्रममा खानेपानीको पाइप काटिने कारणले मर्मतसम्भारमा समस्या भएको दाहालको भनाइ छ ।
भरतपुर महानगरका ९, ११ र १२ का वडावासीलाई नियमित पानी आपूर्ति गर्न १८ महिनामा निर्माण सक्ने उद्देश्यसहित विसं २०७४ जेठ २१ गते आयोजनाको निर्माण सम्झौता भएको थियो । सो अवसरमा भरतपुर महानगर प्रमुख दाहाल र उपप्रमुख पार्वती शाह ठकुरीले निर्माण व्यवसायीसहित खानेपानी आयोजना निर्माणमा लाग्ने उपभोक्ता समितिका पदाधिकारीलाई सम्मान गर्नुभयो । कार्यक्रममा महानगर प्रमुख दाहालले महानगरवासीलाई सर्वसुलभ र स्वच्छ खानेपानी पु¥याउने उद्देश्यका साथ महानगरमा धमाधम खानेपनी आयोजना सञ्चालन भइरहेको बताउनुभयो ।
अनुदाननमा मकै छोडाउने मेसिन र त्रिपाल
चितवनका किसानलाई ५० प्रतिशत अनुदानमा मकै छोडाउने मेसिन र सुकाउने त्रिपाल प्रदान गरिएको छ । कृषि ज्ञान केन्द्र चितवनले मङ्गलबार १७ वटा कृषि फार्म, समूह तथा सहकारीलगायतका सङ्घसंस्थामा आबद्ध किसानलाई ती सामान हस्तानान्तरण गरेको हो ।
कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकाललगायतले किसान तथा कृषक समूहलाई सामान हस्तानान्तरण गर्नुभयो । कृषि ज्ञान केन्द्र प्रमुख ढकालले मकै छोडाउने दुई ठूला मेसिन (ट्र्याक्टर अपरेटर), सातवटा सानो मेसिन (इलेक्ट्रिक मोटर अपरेटर) र ५०० थान त्रिपाल वितरण गरिएको जानकारी दिनुभयो । पचास प्रतिशत कार्यालय र ५० प्रतिशत किसानको लगानीमा ती सामान खरिद गरिएको ढकालले बताउनुभयो । मकै उत्पादन प्रवद्र्धन कार्यक्रम चितवनको भरतपुर महानगरपालिका, खैरहनी नगरपालिका, रत्ननगर नगरपालिका र माडी नगरपालिकामा लागू गरिएको प्रमुख ढकालले जानकारी दिनुभयो ।
शुल्क मिनाहा गर्न अखिलको माग
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) चितवनले शैक्षिक संस्थाले कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउन र निषेधाज्ञा समयको शुल्क लिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
अनेरास्ववियु चितवनका संयोजक प्रकाश आचार्यले मङ्गलबार जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, “महिनौँसम्मको लकडाउनले गर्दा देशको शैक्षिक सत्र प्रभावित बन्न पुगेको थियो । लामो समयको अन्योलतापछि वैकल्पिक सिकाइका नाममा चर्काे शुल्क असुल्ने, यातायात सुविधालगायत विभिन्न शीर्षकमा लिइएको पाइएकाले सो शुल्क तत्काल खारेज गर्न सम्बन्धित निकायलाई जोडदार माग गर्दछौँ ।”
अनेरास्ववियुले लकडाउन अवधि (आठ महिना)को मासिक शुल्कलगायतका अन्य शुल्क मिनाहा गर्नुपर्नेलगायतका ११ बुँदे माग राखेको छ । वार्ता र छलफलको माध्यमबाट एक हप्ताभित्र माग सम्बोधन नगरेमा यसबाट सिर्जना हुने जस्तोसुकै परस्थितिको सामना गर्न तयार रहन अनेरास्ववियुले चेतावनी दिएको छ ।
एमाले र माओवादी पार्टीको बोर्ड राखियो
सर्वोच्च अदालतले नेकपा कम्युनिष्ट पार्टी (नेकपा)लाई गरेको बदरका कारण पार्टी विभाजित भएर नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) भएपछि दुवै दलले चितवनमा आफ्नो पार्टी कार्यालय स्थापना गर्दै बोर्ड राखेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले भरतपुर–१० मदननगरस्थित पार्टी कार्यालयमा आफ्नो बोर्ड राखेको छ । मङ्गलबार एक कार्यक्रमका बीच चितवनका नेता कार्यकर्ताले साविक एमालेको पार्टी कार्यालयमा नेकपाको बोर्ड हटाएर नेकपा (एमाले) लेखेको बोर्ड राखेका हुन् । यसअघि सो कार्यालयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बोर्ड थियो । पार्टी कार्यालयमा साविकका एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो पनि टाँसिएको छ । बोर्ड हालेपछि नेता कार्यकर्ताले खुशीयाली मनाउँदै नाचगान पनि गरेका थिए ।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले पार्टी कार्यालयमा आफ्नो बोर्ड राखेको छ । मङ्गलबार एक कार्यक्रमका बीच चितवनका नेताकार्यकर्ताले साविकको माओवादी केन्द्रको पार्टी कार्यालयमा माओवादी केन्द्र लेखेकै बोर्ड राखेका हुन् । पार्टी कार्यालयमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को तस्वीरसमेत राखिएको छ । यसअघि सो कार्यालयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भरतपुरको बोर्ड थियो ।