सङ्क्रमण फैलिन नदिन सिराहामा सतर्कता, सीमा नाकामा हेल्थ डेस्क स्थापना
लहान, चैत १२ गते । छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएसँगै भारतसँग जोडिएको सिराहाको विभिन्न नाकामा सतर्कता बढाइएको छ । भारतमा तीव्र गतिमा कोरोना सङ्क्रमण फैलिन थालेपछि त्यसको जोखिम सिराहामा पनि पर्न सक्ने भन्दै भारतसँग जोडिएको सिराहाका माडर, ठाडी, बरियारपट्टी, औरही र नवराजपुर नाकामा हेल्थ डेस्क स्थापना गरिएको जिल्ला स्वास्थ्य कार्यालय सिराहाले जनाएको छ ।
भारतीय बजारबाट बढी आवतजावत हुने ती स्थानमा पुनः हेल्थ डेस्क स्थापना गरी स्वास्थ्य सतर्कता बढाइएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिनुभयो । यसअघि गतवर्ष सोही स्थानहरूमा हेल्थ डेस्क स्थापना गरिएको थियो ।
कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेको सिराहामा सङ्क्रमण फैलिन नदिन सीमा नाकामा आवतजावत गर्नेहरूको नियमित स्वास्थ्य जाँचसँगै स्वास्थ्य सतर्कता अपनाउने विधिबारे सचेत बनाउन हेल्थ डेस्क राखिएको प्रमुख यादवले बताउनुभयो ।
यस्तै जिल्ला प्रशासन कार्यालय सिराहाले आवश्यक स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गरी होलीपर्व घरमै मनाउन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेँलले सूचना जारी गरी कोरोना सङ्क्रमण कायमै रहेको र हाल नयाँ स्वरूपमा देखा पर्न थालेकाले होलीलगायतका पर्व भिडभाड नगरी घरमै मनाउन आग्रह गर्नुभएको छ । कोरोना सङ्क्रमणका कारण सिराहामा १२ हजार ४५० जनाको स्वाब परीक्षण गरिएकोमा १० हजार ८०२ मा नेगेटिभ तथा एक हजार ६४८ जना पोजेटिभ आएको थियो । तीमध्ये २५ सङ्क्रमितको मृत्यु भएको थियो ।