प्रदेश |

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. रावल

कर्णाली, चैत २३ गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. मङ्गल रावल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले डा. रावललाई उपकुलपति नियुक्त गर्नुभएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री एवं प्रतिष्ठानका सहकुलपति हृदयेश त्रिपाठीको संयोजकत्वमा बनेको सिफारिस समितिले गरेको सिफारिसबमोजिम प्रधानमन्त्री ओलीले डा. रावललाई नियुक्त गर्नुभएको हो । सिफारिस समितिले प्रतिष्ठानमा कार्यरत सहप्रध्यापक डा. रावलसँगै प्रा. डा. रेशम राना र सहप्रध्यापक डा. पुजनकुमार रोकायाको नाम सिफारिस गरेको थियो ।

गत फागुन १६ गते प्रतिष्ठानका उपकुलपति प्रा. डा. राजेन्द्रराज वाग्लेको पदावधि सकिएपछि उक्त पद खाली भएको थियो । तत्पश्चात डा. रावलले कार्यवाहक उपकुलपतिको जिम्मेवारी सम्हालिरहनुभएको थियो । आइतबार प्रधानमन्त्री ओलीले हुम्ला निवासी डा. रावललाई प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरेपछि कर्णालीवासी भने निकै खुशी भएका छन् ।

त्यसैगरी प्रधानमन्त्री ओलीले आइतबार नै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. डुकबहादुर क्षेत्रीलाई उपकुलपति नियुक्त गर्नुभएको छ । नियुक्त उपकुलपतिहरुको कार्यकाल चार वर्षको हुनेछ ।