दमौलीमा पर्यटक भुलाउन सौन्दर्य पुल निर्माण गरिँदै
अमरराज नहर्की
तनहुँ, वैशाख २ गते । तनहुँको व्यास नगरपालिकाले दमौलीमा पर्यटक भुलाउन सौन्दर्य पुल निर्माण गरिने भएको छ । सदरमुकाम दमौलीमा पर्ने वडा नम्बर ३ को व्यास गुफा र वडा नम्बर ५ को पराशर धाम जोड्ने मादी नदीमाथि निर्मित झोलुङ्गे पुलको स्तराेन्नति गरी सौन्दर्य पुल निर्माण गर्ने भएको हो ।
दमौलीलाई विशेष गरी हिन्दुधर्मालम्बीको लागि आकर्षणको केन्द्रबिन्दु बनाउन सौन्दर्य पुल निर्माण गर्न लागिएको व्यास नगरपालिकाका प्रमुख वैकुष्ठ न्यौपानेले बताउनुभयो । ‘‘फरकपनले पर्यटकलाई आनन्द प्रदान गरी उनीहरुको बसाइ लम्बाउनको लागि सौन्दर्यपुल निर्माण गर्न लागि परेका छौं’’ नगर प्रमुख न्यौपानेले भन्नुभयो । पुलको सौन्दर्य अभिवृद्धिका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको व्यास नगरपालिकाले जनाएको छ । पुलको सौन्दर्य अभिवृद्धि लागि रु ५९ लाख ७२ हजार ३९ बजेट आवश्यक पर्ने परामर्शदाता ईन्जियिनर सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो । ईन्जिनियर पाण्डेका अनुसार पुलमा गेट, गेटमा ढुङ्गाका साथै सप्तरङ्गी बत्ती जडान गरी आकर्षित पारिनेछ ।
‘पुलमा बत्ती जडानका लागि मात्रै २० लाख १६ हजार ३१६ रुपैयाँ बजेट आवश्यक पर्दछ । सौन्दर्य पुल निर्माणको सन्दर्भमा व्यास नगरपालिकामा हालै छलफल कार्यक्रम गरी सुझाव सङ्कलन गरिएको छ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको थियो । सो अवसरमा वरिष्ठ नेता पौडेलले व्यास पराशर क्षेत्रलाई हिन्दूहरुको पवित्र धामको प्रचारप्रसार गर्न थालिएको यस्ता प्रयास सराहनीय रहेको बताउनुभयो ‘‘वेद व्यासको जन्मभूमी, पराशर ऋषिको तपोभूमिलाई दमौलीलाई विश्वमाझ परिचित गराउन विगतदेखि नै प्रयास हुँदै आएको बताउँदै पौडेलले व्यास र पराशर क्षेत्रलाई जोड्ने झोलुङ्गे पुलको सौन्दर्य अभिवृद्धि गरी यस क्षेत्रको धार्मिक पर्यटन वृद्धि गर्न चालिएको कदमा सकारात्मक रहेको बताउनुभयो । पौडेलले चाडैँ नै सम्पन्न गर्नेतर्फ ध्यान दिन नगरपालिकालाई आग्रह गर्नुभयो । साथै वरिष्ठ नेता पौडेलले व्यास–५ मानुङकोट पनि विकासका क्रममा अगाडि बढिसकेको र व्यास पराशर क्षेत्रलाई पनि विकास गर्न सकिए सुनमा सुगन्ध हुने बताउनुभयो । सौन्दर्य पुलले रातको समयमा आर्कषण देखिने भएकोले पर्यटकहरु बास बस्ने हुँदा पर्यटन व्यावसायीको आम्दानी वृद्धि गर्न टेवा पुग्ने विश्वास गरिएको व्यास नगरपालिकका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
पुललाई व्यास झुलाका रूपमा विकास गर्न खोजिएको छलफल कार्यक्रममा जानकारी दिईएको थियो । व्यास झुलाको दुवैतर्फको प्रवेशद्वार पनि आकर्षक बनाइनेछ । प्रवेशद्वार डुङ्गा आकारको बनाउने र पराशर ऋषि र व्यासकी आमा सत्यवतीको आकृति समेत झल्काइने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । व्यासका पिता पराशर र सत्यवतीको मिलन मादी तर्दा डुङ्गामा भएकाले प्रवेशद्वार डुङ्गा आकारमा बनाउन लागिएको कार्यक्रममा जानकारी दिइएको थियो । विश्वकै सबैभन्दा पुरानो ग्रन्थ वेद दमौलीको व्यास गुफामा लेखेको विश्वास गरिन्छ । गुफामा बसेर व्यासले श्रुति अर्थात सुन्ने परम्परा तोडेर वेदलाई श्रीगणेशले भनेको कुरालाई व्यासले लिपिबद्ध गरेको धार्मिक विश्वास छ । दमौलीस्थित गुफामा नै बसेर व्यासले चार वेद तथा १८ पुराण लेखेको व्यासका अध्येता काशीनाथ न्यौपाने बताउनुहुन्छ ।