प्रदेश | पर्यटन |

दोस्रो याममा नौ नाउर र चार झारलको सिकार

नवीन शिशिर विक
बागलुङ, वैशाख २३ गते । नेपालको एक मात्र वैधानिक सिकार क्षेत्र ढोरपाटन सिकार आरक्षमा यस वर्षको दोस्रो सिकार याममा नौ नाउर र चार वटा झारलको सिकार भएको छ । लाखौ रुपियाँ राजस्व तिरेर विदेशी व्यवसायिक शिकारी ढोरपाटन पुगेर निर्धारित कोटा अनुसारको नाउरको शिकार गरेका हुन । शिकारीले एक वटा झारलको शिकार गर्न चुके । दोस्रो सिजनलाई पाँच वटा झारलको कोटा निर्धारण गरिएको थियो ।
दोस्रो यामको शिकारबाट झण्डै २५ लाख रुपैयाँ राजश्व संकलन भएको आरक्ष कार्यालयले जनाएको छ । यो वर्ष लिलाम बढाबढ गर्दा नाउरको एक लाख ८१ हजारदेखि एक लाख ९५ हजार र झारलको एक लाखसम्म तोकिएको थियो ।
पहिलो शिकार याम असोज–कात्तिक नौ नाउर र पाँच झारलको शिकार अनुमति दिइएको भए पनि कोभिड–१९ महामारीका कारण शिकार हुनसकेको थिएन् । पहिलो याममा एक झारल र एक नाउरको शिकार भएकोमा दोस्रो याममा भने लक्ष्य अनुरुप नै शिकार भएको प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताउनुभयो ।
आरक्षको फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ, सुर्तिबाङ र सुनदह गरी ७ ‘ब्लक’ मा शिकार खेल्ने गरिएको थियो । शिकार कम्पनी नेपाल ट्राभल एक्सपिडिसन प्रालि ललितपुर, हिमालयन वाइल्डलाइफ आउटफिर्टस प्रा.लि, ग्लोबल सफारिज प्रा.लि. ठमेल काठमाण्डौ र हिमालयन सफारिज नक्साल काठमाण्डौमार्फत शिकारी ढोरपाटन पुगेका थिए । फ्रान्स
बन्दुक, गोलीगट्ठा र सहयोगीसहित शिकारी आरक्ष आउने गरेको अधिकृत कँडेलले बताउनुभयो । खर्चिला र साहसी शिकारीले विकटमा रहेका ‘ब्लक’ मा शिकार खेल्न रुची राख्छन् । शिकारीसहितको टोलीले १५ दिन जंगलमै समय विताउने गर्छन । दोस्रो याममा अमेरिका, रुस,फ्रान्स युक्रेन र स्पेनका पेशेवर शिकारीले शिकार गरेका हुन् । दोस्रो यामको पहिलो शिकार रुकुम पूर्वको सेङ ‘व्लक’मा चैतको २३ गते १२ वर्षको नाउर मारेर सुरु भएको थियो । अन्तिम शिकार पनि सोही व्लकमा वैशाख ७ गते ८ वर्षको नाउरको सिकार गरेका थिए ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हरेक शिकार याममा बोलपत्र आह्वान गरेर शिकारको कोटा र राजश्व दर निर्धारण गर्छ । वर्षेनी असोज–कात्तिक र चैत–वैशाख गरी दुई याममा शिकार खुला गर्ने गरिन्छ । साहसिक यात्रा र रोमाञ्चक शिकार अनुभवका लागि ढोरपाटन विदेशीको आकर्षक गन्तव्य बनेको छ ।