सुनसान मुस्ताङ, होटल व्यवसाय धराशायी
अमृतप्रसाद पौडेल
बेनी, जेठ २५ गते । याे माैसममा हिमालपारीको जिल्ला मुस्ताङका प्रत्येक घरमा खचाखच पाहुना हुने समय हो । पर्यटन प्रवर्धनका लागि पनि मुख्य आधार मानिएको मुस्ताङको पर्यटन क्षेत्रलाई पछिल्लो दुई वर्ष कोरोनाले सुनसान बनाएको छ । गएको वर्ष बैशाखदेखि पुससम्म अर्थात् नौ महिना पूर्ण रुपमा बन्द भएको मुस्ताङ यसवर्ष पनि चैतदेखि फेरि बन्द भएको छ ।
मुस्ताङ उद्योग वाणिज्य संघ एवं होटल व्यवसायी संघ मुस्ताङका अध्यक्ष खगेन्द्र तुलाचनले १५ भन्दाबढी व्यवस्थित कोठा भएका २ सय ५० होटलहरु बन्द अवस्थामा रहेको बताउनुभयो । प्रत्येक होटलमा सरदरमा पाँच जनाका दरले रोजगार पाएकोमा अवस्थामा अहिले मुस्ताङ जिल्लाको होटल व्यवसायमा कार्यरत एक हजार २५० जनाभन्दा धेरैले रोजगारी गुमाएको उहाँले बताउनुभयो ।
अध्यक्ष तुलाचनका अनुसार मुस्ताङको थासाङ गाउँपालिकाको घाँसादेखि लोमान्थाङ गाउँपालिकाको छोसेरसम्म १५ भन्दा धेरै कोठा भएका २५० वटा होटलहरु सञ्चालनमा छन् । १० भन्दा कम कोठा भएका होटलहरुको संख्या पनि धेरै भए पनि उनीहरुको एकिन तथ्याङ्क निकाल्ने काम अगाडि बढिरहेको छ ।
अरर्बौंको लगानी रहेको पर्यटन क्षेत्र कोभिड–१९ को कारणले गर्दा थलिएको छ । मुस्ताङ जिल्लाभित्र कृषि तथा पर्यटन पेशा नै मुख्य हो, स्थानीय युवा वैदेशिक रोजगारीमा जाने र महिला तथा पाका पुस्ता भने होटल तथा कृषि एवं फलफूल खेतीपाती गर्ने गर्दछन् । हिन्दु तथा बौद्ध धर्मावलम्बीको धार्मिक तीर्थस्थल मुक्तिनाथ र कागबेनी जस्ता क्षेत्रको कारणले गर्दा पनि पर्यटन र स्थानीय उत्पादनको बजारीकरणका लागि मुस्ताङलाई उपयुक्त जिल्लाका रुपमा मानिन्छ ।
मुस्ताङमा पर्यटन व्यवसायका लागि थासाङ गाउँपालिकाको कोबाङमा, घरपझोङ गाउँपालिकाको जोमसोम र लोमान्थाङ गाउँपालिकामा व्यवस्थित होटल तथा रिसोर्ट छन्भने अन्य क्षेत्रमा पनि पर्याप्त होटल रहेको हुँदा आन्तरिक तथा बाह्य पर्यटकलाई खान बस्नको कहिल्यै समस्या हुँदैन । अधिकांश व्यवसायहरु आफ्नै पूर्वाधारमा सञ्चालित मुस्ताङमा करिब १०–१५ प्रतिशत होटल मात्र भाडामा रहेको होटल व्यवसायी समेत रहनुभएका अध्यक्ष तुलाचनको भनाइ छ ।
व्यवसाय डामाडोल अवस्थामा पुगेको छ तर पनि अहिलेको अवस्थामा कोभिड–१९ पूर्ण नियन्त्रणमा नआएसम्म खुलाउँदा आगामी दिनमा थप जोखिम हुन सक्नेतर्फ जिल्लावासी सजग रहेको तुलाचन बताउनुहुन्छ । ‘हामीले गतवर्ष पनि ९ महिनासम्म होटल व्यवसाय बन्द गरेका हौं, अन्य जिल्लाका व्यवसायीको दवावले मात्रै व्यवसाय खुलाएका थियौं’– उहाँले भन्नुभयो ।
नयाँ भेरिएन्टसहितको कोभिड–१९ को लहरपछि मुस्ताङमा ३७६ जनामा कोरोना संक्रमण भेटिएको छ भने १३ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय मुस्ताङका निमित्त प्रमुख टिकाराम भण्डारीले बताउनुभयो । सोमबारसम्म १५४ जना सक्रिय सङ्क्रमित रहेको मुस्ताङमा १ सय ८५ जनाले कोरोना जितेका छन् ।
राज्यलाई पनि कर तिरौंला र आफू पनि बाँचौंला भनेर थालेको व्यवसाय कोरोनाले गर्दा बन्द हुँदा कठिन भएको युवा व्यवसायी अमृत सुवेदीले बताउनुभयो । बन्दले गर्दा व्यवसायीहरु धरासायी भएर पुरै पलायन हुने अवस्था आएको सुवेदीको धारणा छ । उहाँ भन्नुहुन्छ, गतवर्ष ९ महिना घरभाडा मात्रै तिर्दा पनि मुस्किल भयो अहिलेको बन्दले उठ्नै नसक्ने गरी थला पार्ने भयो । मुक्तिनाथ क्षेत्रमा व्यवसाय गर्नुभएका सुवेदीले मेरो होटल रहेकै क्षेत्रमा संक्रमणदर उच्च भएकाले अब छिटै खुल्ने सम्भावना कम रहेको बताउनुभयो ।
मुस्ताडमा समुदायस्तरमै कोरोना संक्रमण फैलिएपछि जिल्ला प्रशासन कार्यालय मुस्ताङले गएको बैशाख ३१ गतेदेखि सुरु गरेको निषेधाज्ञा जेठ ३१ सम्म जारी छ । मुक्तिनाथ मन्दिरसहित पर्यटकीय स्थलमा हुने गतिविधिमा रोक लगाइएको र निषेधाज्ञा समेत जारी भैरहेकाले पुनः बैशाख महिनादेखि पर्यटकीय क्षेत्र मुस्ताङ गुमनाम भएको छ । वर्सेनि ६० हजार विदेशी पर्यटक र करिब तीन लाखको हाराहारीमा आन्तरिक पर्यटकले मुस्ताङ भ्रमण गर्ने अनुमान छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमको वार्षिक तथ्याङ्कअनुसार मुस्ताडमा वर्सेनि मार्चदेखि जुलाइसम्म प्रत्येक महिना सात देखि १४ हजारसम्म विदेश पर्यटक आउने गर्थे । चैतेदशैंं तथा सोह्रश्राद्धमा आन्तरिक पर्यटकहरुको निकै घुइँचो हुने गर्दथ्यो ।
कोरोनाको दोस्रो भेरिएन्ट आउनुभन्दा अघि पोखरा–जोमसोम हवाई सेवा नियमित लयमा फर्किएको भए पनि पुनः कोरोनाले त्यो पनि बन्द भएको छ । जोमेसोम नागरिक उड््ययन कार्यालयका प्रमुख दीपक विकले दिएको जानकारीअनुसार कोभिड–१९ को संक्रमण सुरु हुनु अघिको दुई महिनामा दैनिक पाँच वटासम्म उडान हुने गरेको थियो । कहिलेकाँहीँ पर्यटकको चापअनुसार १० वटा उडानसम्म भएको थियो भने भारतीय पर्यटकको समेत फ्लो बढ्दै जान थालेको थियो ।