बेनी आसपास जताततै पहिरोः ग्रामीण सडक पूर्णरुपमा अवरुद्ध (फाेटाे फिचर)
ठाकुरप्रसाद आचार्य
म्याग्दी, असार २५ गते । म्याग्दीको सदरमुकाम बेनी बजार आसपासमा ठुलठुला पहिरो खसेका छन् । अविरल वर्षाका कारण खसेको पहिरोका कारण बजार क्षेत्रमा जोखिम बढेको छ । विहिवार विहान बेनीको न्यूरोड स्थित घतानचोकमा हिलसाइडबाट खसेको पहिरोले दुई घरमा क्षति पु-याएको थियो । भने केही घर जोखिममा परेका छन् ।
यसैगरी शुक्रबार विहान बेनी सामुदायिक विद्यालय नजिक बराहपाखोबाट रुख सहित ठूलो पहिरो खसेको छ । पहिराका कारण बेनी – अर्थुङ्गे सडक पूर्णरुपमा बन्द भएको छ । पाखो चर्किएकाले विद्यालय र सरकारी कार्यालयहरु जोखिमा परेका छन् ।
यसैगरी महारानीथान नजिक पनि माथि पाखोबाट ठूलो पहिरो खसेको छ । यहाँ खसेको पहिराका कारण बेनी नगरपालिका ७ मंगलाघाट बजार जोखिममा परेको छ ।
ठुलाठुला ढुङ्गासहितको पहिरो खसेकाले बजार क्षेत्र जोखिममा परेको ७ नम्बर वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बताउनुभयो । बस्तीमाथिबाट ठुला ढुङ्गासहितको पहिरो खसेको उहाँले बताउनुभयो । पहिरोका कारण सडक अवरुद्ध भएको र खुलाउने प्रयास भइरहेको उहाँले बताउनुभयो ।
यस्तै विभिन्न ठाउँमा खसेको पहिराका कारण बेनी – दरबाङ सडक र बेनी – जोमसोम सडक पूर्णरुपमा बन्द भएको छ । करिब ५ देखि १० ठाउँमा पहिरो र बाढीले सडक भत्काएका कारण सडक बन्द भएको म्याग्दीका प्रहरी नायब उपरिक्षक श्यामकुमार राईले बताउनुभयो । सडक खुलाउन दुइतीन दिन लाग्न सक्ने उहाँले बताउनुभयो । यसैगरी जिल्लाका अन्य ग्रामीण सडकहरु पनि पूर्णरुपमा बन्द भएका छन् ।
सडक खुलाउने प्रयास भएप नि धेरै स्थानमा पहिरोले सडक अवरुद्ध पारेकाले तत्काल सम्भव नभएको उहाँले बताउनुभयो । सडक बन्द हुँदा जनजीवन प्रभावित भएको छ ।