प्रदेश | खेलकुद |

सोनियाको ओलम्पिक यात्राले बाँकेका खेलप्रेमी उत्साहित

सिराज खान
नेपालगञ्ज, साउन २ गते । बाँके खजुरा २ की १९ वर्षिया जुडो खेलाडी सोनिया भट्टले टोकियो ओलम्पिकमा बाँकेको प्रतिनिधित्व गर्ने अवसर पाएपछि बाँकेको खेल क्षेत्र निकै उत्साहित बनेको छ ।ओलम्पिकमा सोनियाले नेपालका तर्फबाट सहभागी हुने अवसर पाएपछि अहिले उहाँको परिवारमात्र होइन, सिंगो जिल्लानै गौरवान्वित छ ।
भट्टले वाइल्ड कार्डमार्फत टोकियो ओलम्पिकमा खेल्न गएपछि समग्र बाँकेको खेल क्षेत्र गौरवान्वित बनेको पूर्व ओलम्पियन खेलाडी सुरेन्द्र हमालले बताउनुभयो ।
हाल बाँकेबाट प्रदेशसभामा सांसद रहनु भएका हमालले खेलमा लागेपछि हरेक खेलाडीको अन्तिम गन्तव्य भनेको नै ओलम्पिक भएको जनाउँदै तर त्यहाँसम्म केही सीमित खेलाडी मात्रै पुग्ने गरेको बताउनुभयो ।
उहाँले लामो समयपछि बाँकेका कुनै खेलाडीले ओलम्पिक खेल्ने अवसर पाएको जनाउँदै यो सबै जिल्लावासीका लागि अत्याधिक गौरवको विषय हो भन्नुभयो ।
यस्तै बाँकेबाट ओलम्पिकमा प्रतिनिधित्व गर्नुभएकी सुटिंगकी खेलाडी पार्वती थापाले पनि सोनियाले पाएको अवसर सबैका लागि गर्वको विषय भएको बताउनुभयो ।
ओलम्पिकका लागि जुडोको ४८ केजी तौल समूहमा स्थान पाउनुअघि सोनियाले निकै मिहिनेत गर्नुभएको थियो । खजुराको ज्ञानोदय माविमा पढ्दा पढ्दै खेलकूदमा लाग्नुभएकी सोनियाले काठमाडौंमा भएको १३ औं सागमा कास्य पदक, बंगलादेशमा दुई वर्षअघि भएको जुडो च्याम्पियनसिपमा क्याडेटतर्फ स्वर्ण पदक जित्नुभएको थियो ।
त्यस्तै मोरक्कोमा भएको विश्व जुनियर जुडो च्याम्पियनसिपमा पनि उहाँले राम्रो प्रदर्शन गर्नुभयो । तिनै प्रदर्शनका आधारमा सोनिया टोकियो ओलम्पिकमा स्थान बनाउन सफल हुनुभएको हो ।
बाँकेबाट यसअघि भारोत्तोलनका सुरेन्द्र हमाल र सुटिङका पार्वती थापा तथा अनिता श्रेष्ठले ओलम्पिक खेलिसक्नुभएको छ ।
ओलम्पिकमा सहभागि हुन आफ्नो नाम वाईल्ड कार्डमार्फत आउने आशानै नभए पनि आएकोमा निकै खुशी लागेको र राम्रो पदर्शन गर्न दिनरात कडा परिश्रम गरेको सोनियाले टोकियो जानुभन्दा अघि बताउनु भएको थियो ।
सोनियाले ओलम्पिकमा पदक जितेर फर्किउन् भन्ने जिल्लावासीको मात्र नभई समग्र पश्चिम नेपालकै खेलाडी र खेल प्रेमीहरुको कामना रहेको मध्यपश्चिम खेलकूद विकास समितिका पूर्व अध्यक्ष भीम ओलीले बताउनुभयो ।