जडीबुटी खेतीमा जुट्दै दाङका कृषकहरु
टीकाबहादुर बस्नेत
दाङ, साउन २० गते । दाङका कृषकहरु जडिबुटी खेतीतर्फ आकर्षिक बन्दै गएका छन् । परम्परागत खेतीबाट आम्दानी हुन छाडेपछि जिल्लाका पहाडी भेगका कृषकहरु जडीबुटी खेतीतर्फ आकर्षित बन्दै गएका हुन् ।
डिभिजन वन कार्यालय दाङले पहाडी क्षेत्रलाई जडीबुटी खेतीको पकेट क्षेत्र निर्माण गरेपछि आफूहरु जडिबुटी खेतीतर्फ आकर्षित भएको बंगलाचुली गाउँपालिका वडानम्वर १ बोजपोखराका भेषराज घर्तीले जानकारी दिनुभयो ।
परम्परागत खेतीबाट सोचे अनुरुप आम्दानी नभएपछि वैकल्पिक खेतीका रुपमा जडिबुटी खेतीलाई लिएको भन्दै भेषराजले यसबाट आफ्नो जीवनस्तर उकासिनेमा आशावादी भएको बताउनुभयो । ‘भिरालो जमिनमा खेती गर्दा उत्पादन राम्रो नभइरहेकाले समस्यामा थियौं । वन कार्यालयबाट जडीबुटीका बिरुवा पाएपछि जडीबुटी खेती सुरु गरेका छौं’, भेषराजले भन्नुभयो, ‘जडीबुटी खेतीले हाम्रो जीवनस्तर उकासिन्छ कि भन्ने आशामा छौं ।’
भेषराज जस्तै वंगलाचुली गाउँपालिकाका वडानम्वर १, २, ३ ४ र ५ का साथै घोराही उपमहानगरपालिका वडानम्वर १८ र १९ का ६ सय कृषकहरुले जडीबुटी खेती सुरु गरेका छन् । डिभिजन वन कार्यालय दाङको सहयोग र सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा कृषकहरुले टिमुर, मालागेडी र दालचिनीका ७१ हजार बढी विरुवा रोपेका छन् । जसमा सबैभन्दा बढी टिमुरका ४५ हजार २ सय ८३, मालगेडीका १४ हजार १ सय ९ र दालचिनीका ११ हजार ६ सय ३८ वटा बिरुवा रोपिएको जडीबुटी विस्तार कार्यक्रमका संयोजक बालचन्द्र शर्माले जानकारी दिनुभयो ।
बिरुवा रोप्ने कृषकहरुलाई प्रोत्साहन रकम
यसैबीच परम्परागत खेती छाडेर जडिबुटी खेतीमा लागेका कृषकहरुलाई प्रोत्साहन वाफतको रकम उपलब्ध गराइएको डिभिजन वन कार्यालय दाङले जानकारी दिएको छ । जडीबुटी खेतीमार्फत स्थानीय किसानहरुको आयआर्जनमा सहयोग गर्ने उद्देश्यले कार्यालय दाङले कृषकहरुलाई प्रतिबिरुवा ३ रुपियाँका दरले प्रोत्साहन रकम उपलब्ध गराएको कार्यालय प्रमुख विजयराज सुवेदीले जानकारी दिनुभयो । कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै आगामी वर्षमा समेत निरन्तरता दिई सम्भावित क्षेत्रमा उद्योग स्थापना गर्नेसम्मको कार्यालयले योजना बनाएको उहाँले जानकारी दिनुभयो ।
सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्था लि. मार्फत किसानहरुलाई गाउँमै निःशुल्क बिरुवा उपलब्ध गराइएको र उनीहरुलाई प्रोत्साहन वापत २ लाख १० हजार रुपियाँ उपलब्ध गराएको कार्यालय प्रमुख सुवेदीले जानकारी दिनुभयो ।