प्रदेश |

युद्ध सङ्ग्रहालय उद्घाटनसँगै चहलपहल, दैनिक चार सय पुग्छन्

बाबुराम देवकोटा
सिन्धुलीगढी  साउन २४ गते । सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–३ स्थित ऐतिहासिक स्थल सिन्धुलीगढीमा निर्माण भएको युद्ध सङ्ग्रहालय उद्घाटनसँगै सङ्ग्रहालय हेर्न आउने मानिसको चहलपहल बढेको छ ।
राष्ट्रपति विद्यादेवी  भण्डारीले साउन दोस्रो सातामा समुद्घाटन गर्नु भए युद्ध सङ्ग्रहालय अवालोकन गर्न आउने मानिस बढ्दै गएको हो । नेपाली सेनाले निर्माण गरेको उक्त युद्ध सङ्ग्रहालय उद्घाटनसँगै कमलामाई नगरपालिकालाई त्यसको स्वामित्व हस्तान्तरण गरि अवालोकनका लागि खुल्ला गरिएको थियो ।
अहिले दैनिक चार सयभन्दा बढी व्यक्ति युद्ध सङ्ग्रहालय र सिन्धुलीगढी घुम्न आउन थालेका कमलामाई नगरपालिकाले जनाएको छ । नगरपालिकाका बरिष्ठ सामाजिक विकास अधिकृत सागरकुमार ढकालका अनुसार यही साउन महिनाको १३ गते राष्ट्रपतिबाट उक्त सङ्ग्रहालय उद्घाटन गरी सर्बसाधारणका लागि अबलोकन गर्न खुल्ला गरिएको थियो ।
उहाँले भन्नुभयो, ‘अहिले युद्ध सङ्ग्रहालय हेर्न आउने मानिस दैनिक बढ्दै गएका छन् । उक्त सङ्ग्रहालय नेपालकै पहिलो भएकोले पनि यसको चासो लिएर हेर्न आउने मानिस बढ्दै गएका हुन् ।’ सङ्ग्रहालय हेर्न आउने मासिनबाट अहिले दैनिक सरदर २० हजार रुपियाँ नगरपालिकालाई आम्दानी भई रहेको उहाँले सुनाउनु भयो ।
बरिष्ठ सामाजिक विकास अधिकृत ढकालका अनुसार उक्त सङ्ग्रहालय हेर्न आउने मध्ये सर्बसाधारणका लागि ५० रुपियाँ, परिचयपत्र भएका विद्यार्थीका लागि २५ रुपियाँ र विदेशी नागरिकका लागि दुई सय रुपियाँ प्रवेश शुल्क नगरपालिकाले तोकेको छ । ७० बर्ष कटेका ज्येष्ठ नागरिक, ‘क’ र ‘ख’ बर्गका अपाङ्गता परिचय पत्र भएका, बाहालवाला नेपाली सेना, सङग्राहलयमा राख्न युद्धकालीन समयमा प्रयोग भएका घरेलु हतियार दिने नागरिक, कमलामाई नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिलाई भने निःशुल्क प्रवेशको व्यवस्था मिलाईएको छ ।
त्यस्तै नगरपालिकाको निर्णय अनुसार फिल्म सुटिङ गर्नेलाई दैनिक पाँच हजार रुपियाँ शुल्क बुझाउनु पर्ने व्यवस्था मिलाएको नगरपालिकाले जनाएको छ । नगरपालकाका अनुसार सिन्धुलीगढीमा नै अहिले बागमती प्रदेश सरकारको साँढे चार करोड रुपियाँ लागतमा रानीदरबार निर्माण भई रहेको छ । त्यस्तै सिन्धुलीगढी युद्धमा सबैभन्दा बढी मानिसले ज्यान गुमाएको रक्ते छाँगोमा समाधिपार्क निर्माणको तयारी भई रहेको छ ।
यि सबै संरचना निर्माण भई सकेपछि सिन्धुलीगढी घुम्न आउनेबाट बार्षिक पाँच करोड रुपियाँ आम्दानी लिने योजना कमलामाई नगरपालिकाले बनाएको छ ।
पहिले नाममात्रै रहेको सिन्धुलीगढी युद्ध सङ्ग्रहालय निर्माणपछि घुम्न लायक ठाँउ भएको स्थानीय खनियाखर्क माविका प्रधानाध्यापक लेखबहादुर बस्नेत बताउनु हुन्छ । उहाँले भन्नुभयो, ‘जतिसुकै व्यस्त मान्छे अहिले सिन्धुलीगढी पुगेपछि कम्तिमा पनि डेढ घण्टा समय खर्च भएको पत्तै पाउँदैन । त्यहाँ बनेको संरचना हेर्दा हेर्दै उक्त समय बित्द छ ।’
नगरपालिकाका अनुसार अहिले सिन्धुलीगढी घुम्न आउने मानिसले सङ्ग्रहालय भित्रको थिएटर मार्फत गढीको ऐतिहासिक सामरिक महत्वको बृत्त चित्रको प्रर्दशनी, तत्कालीन समयमा सेनाले प्रयोग गरेका घरेलु हात हतियार, तोप, गोला, दस्ताबेज, तत्कालीन युद्धकालीन समयमा घरेलु सेना र विपक्षी सेनाको पोशाक लगायत ऐतिहासिक बस्तुहरु अवालोकन गर्न पाउने व्यवस्था मिलाईएको छ ।
उक्त सङग्रहालयको परिसरमा निर्माण भएको बीर योद्धाहरु श्रीहर्ष पन्त, बंशु गुरुङ, बंशराज पाण्डे र वीरभद्र उपाध्यायको प्रतिमा, ठूलोगढी, सानोगढी, युद्धमा प्रयोग भएका किल्ला, पृथ्वीनारायण साहको पूर्णकदको शालिकले सिन्धुलीगढीको ऐतिहासिक महत्वमा उर्जा थपेको उक्त गढी घुम्न आउनु भएका स्थानीय बासिन्दा बलराम बरालले बताउनुभयो ।
अझ त्यहा बन्न बाँकी रहेको भौतिक संरचनाहरु निर्माण भएपछि सिन्धुलीगढी नेपालका पर्यटकिय प्रमुख गन्तव्य मध्येको एकमा पर्ने उहाँको ठम्याई छ ।
उक्त सङ्ग्रहालय नेपाली सेनाको नागरिक सहयोग अभियान अन्तर्गत २०७६ साल माघ महिनादेखि युद्ध सङ्ग्रहालय बनाउन सुरु गरिएको थियो । उक्त सङ्ग्रहालय निर्माण गर्ने जिम्मेवारी सदरमुकाम सिन्धुलीमाढीस्थित नेपाली सेनाको बद्र्धबहादुर गणले पाएको थियो ।
गणका गणपति बिजय थापाले नेपाली सेनाको करिब सात करोड रुपियाँ लागतमा सिन्धुलीगढीमा युद्ध सङ्ग्रहालय निर्माण भएको जानकारी दिनुभयो । करिब छ हजार २८१ ब्र्गफुट क्षेत्रफलमा ंछ कोठे एक तल्ले सङ्ग्रहालय निर्माण भएको छ ।
नेपाल एकीकरणका बेला बिं. सं. १८२४ असोज १५ गते काठमाडौं कब्जा गर्न कप्तान किनलोकको नेतृत्वमा आएको आधुनिक हतियारले सुसज्जित अंग्रेज सेनालाई सिन्धुलीगढीको युद्धमा गोर्खाली सेनाले हराएकोले उक्त स्थानको ऐतिहासिक महत्व रहेको जनाइएको छ ।