प्रदेश | फोटो फिचर |

श्रीमती र बुवाको हत्या, खाल्डोमा पुरिएको अवस्थामा भेटियो शव (फोटो फिचर)

विजयकुमार साह

ढल्केवर, भदौ ७ गते । मिथिला बिहारी नगरपालिका ५ ललियाका ३० वर्षिय भागेश्वर मण्डलले आफनै बुवा ५५ वर्षीय रामवृक्ष मण्डल र श्रीमती २४ वर्षीया अम्रिकादेवी मण्डलको हत्या गरेका छन् ।

दुबै जनाको शव घर नजिक रामकिसुन मण्डलको आँप बगैँचामा खाल्डो खनेर गाडेको अवस्थामा आज बिहान ७ बजे फेला परेको छ । एउटै खाल्डोमा ससुरा र बुहारीको शव भेटिएको हो ।

मृतक दुबै जनाको टाउकोमा गहिरो चोट देखिएको छ । दुबै जनालाई लौरोले टाउकोमा प्रहारी गरी डोरीले घाँटी थिचेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी तथा प्रवक्ता जितेन्द्रकुमार बस्नेतले बताउनुभयो । उनीहरुलाई राति १२ नै हत्या गरेर शव गाडेको शङ्का प्रहरीको छ ।

शव गाडेको ठाउँमा प्रहरीले घेरा हालेर उत्खनन गरी शव निकालेर घटनास्थलको मुचुल्का उठाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ ।

सोमबार रातिदेखि बेपत्ता ससुरा र बुहारीको खोजविन भएपछि  आँप बगैँचामा रगतको छिटा देखिएको थियो ।  दुवैको हत्या भएको हुनसक्ने अनुमान गरेर थप खोजतलास गर्दै जाँदा बगैँचाको दक्षिण कुनामा भर्खरै माटो खनिएको जस्तो देखिएपछि प्रहरीलाई खबर गरेको हत्या अभियोगमा पक्राउ परेका भागेश्वरको काका चन्द्रहँस मण्डलले भन्नुभयो । खाल्डो भेटिएपछि भागेश्वर अस्वाभाविक गतिविधि देखाउन थालेकाले शङ्का लागेर सोधपुछ गर्दा उनले हत्या गरेर शव गाडेको स्वीकार गरेपछि प्रहरीमा बुझाएका थिए ।

उनी दुवैको हत्या गरी खाल्डोमा पुरेर गाउँमा गएर बुबा र श्रीमती बेपत्ता भएको हल्ला गरेपछि गाउँले तथा आफन्तसँगै खोज्न हिँडेका थिए । आफूमाथि शङ्का नहोस् भनेर उनले त्यसो गरेको हुनसक्ने स्थानीयले बताउनुभयो ।

काका मण्डलकाअनुसार भागेश्वर सात महिना अघि वैदेशिक रोजगारीबाट घर फर्केका थिए । घर फर्केपछि उनले बुबा र श्रीमतीबीच अनैतिक यौन सम्बन्ध रहेको आशंका गर्दै आएका थिए । जसको कारण उनको पत्नीसँग दिनहुँ झगडा हुँदै आएको थियो ।

यसै बिषयमा सोमबार दिउँसो र साँझ पख उनीहरुबीच विवाद भएको थियो । सात बर्षअघि भागेश्वर र अम्रिकाबीच विवाह भएको थियो । विवाहको केहीदिनदेखि नै भागेश्वर श्रीमतीप्रति शंकालु बनेका थिए । माइती तथा आफन्तसँग फोनमा कुरा गर्दा पनि कुन नाठोसँग कुराको गरेको भन्दै कुटपिट  गर्थे । वैदेशिक रोजगारीमा हुँदा पनि श्रीमतीले एकछिन फोन ढिलो उँठाउँदा कोसँग मस्किएर बसेको थिइस् भन्दै अपशब्द भन्थ्यो उनका आफन्तले भन्नुभयो ।

उनी पछिल्लो पटक वैदेशिक रोजगारीबाट एक महिनामै घर फिरेका थिए । चौबिस घण्टा गाँजा सेवन गर्ने भागेश्वर शव भेटिएको स्थानमा पनि नसामा लठठ् थिए काकाले भन्नुभयो ।  भागेश्वर र अम्रिकादेवीका एक छोरा र एक छोरी छन् ।