प्रदेश | फिचर | फोटो फिचर |

मानसरोवर कैलाशको दर्शनका लागि सद्गुरू हुम्लामा (फोटो फिचर)

राजन रावत

हुम्ला, भदौ ९ गते । निर्धारित समयभन्दा एक दिन ढिलो गरी चर्चित सद्गुरु हुम्लाको सदरमुकाम सिमकोट आइपुग्नुभएको छ । मानसरोवर कैलाशको दर्शन नेपाली भूमि लाप्चा क्षेत्रबाट पैदल मार्गबाट दर्शन गर्न उहाँ हुम्ला आइपुग्नुभएको हो ।
खराब मौसमको कारण हेलिकोप्टरले उडान भर्न नसक्दा एक दिन ढिलो गरी सद्गुरु हुम्ला आइपुग्नुभएको पर्यटन व्यवसायी विजय लामाले बताउनुभयो । उहाँ आजै काठमाडौँबाट नेपालगंज र नेपालगञ्जबाट पसमकोट हवाई जहाजमा आइपुग्नुभएको हो । उहासँग अरु दुई जना सहयोगीहरु पनि आउनुभएको छ । सिमकोट विमानस्थलमा ओर्लिएपछि उहाँले सिमकोटलाई निक्कै सुन्दर ठाउँ भएको बताउनुभयो । विमानस्थलबाट सद्गुरुलाई मोटर साइकलको व्यवस्था गरिएको भए पनि उहाँ आफैले पैदल मार्गबाट बास बस्ने स्थान सिमसार क्षेत्रको खेल मैदानसम्म हिँडेर जानुभएको थियो । आज एक दिन गुरु सिमकोटमै बस्नुहुनेछ । भोलि बिहानदेखि उहाँको लाप्चातर्फको पैदल यात्रा सुरु हुने उहाँले बताउनुभयो । मङ्गलवार काठमाडौँ विमानस्थलमा सद्गुरु बेलुका अबेरसम्म बस्नु परे पनि हेलिले उडान भर्न नसक्ने भएपछि उतै रोकिनुभएको थियो । सदगुरुसंग अन्य दुई जना सहयोगी थिए । स्वागतका लागि हुम्लामा गुरुको निक्कै पर्खाई र चर्चा भइरहेको बेला उनी नआउने भएपछि निराशा छाएको थियो । अब सद्गुरुको मानसरोवर कैलाशको यात्रा एक दिनपछि धकेलिएको छ । यसअघि ५५ जना कुक, गाइड र ४६ जना विभिन्न देशका गुरुसँग जाने पर्यटकहरु सिमकोट आइसक्नुभएको थियो । उहाँहरु सबै खेल मैदानमा पालको व्यवस्था गरी बस्दै आउनुभएको छ ।