विभाजनले एमालेलाई ओखलढुंगामा धक्का
मनोज भट्टराई
ओखलढुंगा, असोज ४ गते । ओखलढुंगामा नेकपा (एमाले) र नवगठित नेकपा (एकिकृत समाजवादी) बीच कार्यकर्ता तान्ने होडबाजी देखिएको छ । दुइवटै पार्टीका पछिल्ला क्रियकलापले जिल्ला तथा काठमाडौंमा रहेका कार्यकर्ताहरु तान्नमा होडवाजी देखिएको हो ।
दुवै पार्टी यतिवेला जिल्लाका विभिन्न कमिटी गठन तथा भेलामा कार्यकर्ता तान्न नेताहरु जुटेका छन् । नेकपा एमाले विभाजनपछि गठन भएको एकीकृत समाजवादीले संगठन विस्तारलाई ध्यान दिएको छ भने एमालेले नेता कार्यकर्ता पार्टीमा टिकाउने र समाजवादीमा जान रोक्ने अभियानमा गाउँ पसेको छ ।
एमालेले काठमाडौंमा सुनकोसी सम्पर्क मञ्चको भेला आयोजना गरिरहाँदा त्यहीबेला एकीकृत समाजवादीले चम्पादेवी सम्पर्क मञ्चको भेला गरिरहेको थियो । भेलाबाट दुवै पार्टीले आफ्ना पार्टीका कार्यकर्ताहरु समेट्न कमिटी निर्माण गरेका छन् । एमाले भित्रको एउटा समुह सम्पर्क मञ्चको भेलामा व्यस्त हुँदा अर्को समुह जिल्लाको चम्पादेवी गाउँपालिका पुगेको थियो ।
उक्त समुहले चम्पादेवीमा अधिवेशन आयोजक कमिटी गठन गरेको छ । जिल्लाका अन्य तहमा पनि अधिवेशन आयोजक कमिटी निर्माण गर्ने तयारी रहेको एमाले जिल्ला तहका नेताहरुले बताउने गरेका छन् । यसअघि एकीकृत समाजवादीको ओखलढुंगा काठमाण्डौं सम्पर्क मञ्च तथा शनिबार चम्पादेवी काठमाडौं सम्र्पक कमिटी निर्माण गरिसकेको छ । समिति भेला आयोजक भएको र त्यसले अधिवेशन आयोजना गर्ने एकीकृत समाजवादीका सचिवालय सदस्य दिपक फुयालले जानकारी दिनुभयो ।
आफूहरुले पार्टी केन्द्रको सर्कूलर कार्यान्वयन तथा अधिवेशनको तयारीका कामहरु शुरु भएको एमालेका जिल्ला सचिव शंकर कट्वालले बताउनु्भयो । उहाँले एकीकृत समाजवादी गठन भएपनि जिल्लामा एमालेको पार्टी संगठनमा खास असर नपर्ने उहाँले दावी गर्नुभयो ।
एमाले यसअघि जिल्लामा पहिलो पार्टी भएपनि विभाजनले निकै ठूलो धक्का लागेको छ । एकीकृत समाजवादीमा ओखलढुंगाको कम्युनिष्ट आन्दोलनमा ३ दशक बढी योगदान गर्नुभएका एमालेका उपाध्यक्ष नेत्र भट्टराई, मेखबहादुर खड्का, मावर सुनुवार, नरेन्द्र श्रेष्ठ, युवा नेताहरु राजन खत्री, दिपक फुयाल, सञ्जीप गुरुङ लगायत एकिकृत समाजवादी निर्माणमा लागेपछि एमालेलाई ठूलो धक्का लागेको हो ।