प्रदेश |

समुदायका सारथी स्वास्थ्य स्वयंसेविका, सम्मान पाउँदा दङ्ग

चाँदनी आचार्य
लम्की (कैलाली), असोज १६ गते । कैलालीको गौरीगंगा नगरपालिकाले समुदायस्तरमा स्वास्थ्य क्षेत्रमा काम गर्ने महिला स्वास्थ्य स्वयंसेविकालाई विभिन्नखाले सेवा सुविधामार्फत् खुसी दिनुका साथै काम गर्ने उत्साह थपेको छ । नागरिकलाई सर्वसुलभ स्वास्थ्यमा पहुँच पु¥याउन समुदायस्तरसम्म पुलको काम महिला स्वयंसेविकाले गर्दैआएका छन् । नजिकको सरकार भनेको स्थानीय सरकार हो, उहाँहरुको परिश्रमलाई मूल्याङ्कन गर्दै प्रत्येक वर्ष स्थानीय तहले सेवासुविधा बढाउँदै गएको छ ।

गौरीगंगा नगरपालिका स्वास्थ्य शाखाकाअनुसार नगरका ११ वडामा ७४ जना महिला स्वास्थ्यसेविका कार्यरत छन् । सुरुमा २ वटा स्वास्थ्य संस्था मात्र रहेको गौरीगंगा नगरपालिकामा स्थानीय तहको निर्वाचनपछि अहिलेसम्म ११ वटा वडामा स्वास्थ्य संस्था छ । निःशुल्क सेवा दिइरहेका महिला स्वास्थ्य स्वयंसेविकालाई समेत स्थानीय सरकार आएपछि सहज हुँदैगएको छ ।

स्वास्थ्य क्षेत्रमा सरकारले जति नै धेरै लगानी गरेपनि तल्लोस्तरसम्म जनतासँग जोडिएर काम गर्ने महिला स्वयम्ंसेविकाको सहयोग लिनुपर्छ । जनतासँग नजिक पनि महिला स्वयंसेविका रहन्छन् । उहाँहरु घर–घर पुगेर सूचना दिने काम होस् या सामान्य स्वास्थ्यका जनचेतना जगाउने अभियानका कायक्रम किन नहुन्, खोप भिटामिन खुवाउने कार्यक्रममा समेत घरघरमै पुुग्ने गरेको स्थानीयको भनाई छ ।

उसो त स्वास्थ्य स्वयंसेविकाका लागि सरकारले तलब भत्ताको व्यवस्था नगरे पनि उहाँहरुको पोसाक भत्ता, मासिक भत्ता र यातायात भत्ता दिने व्यवस्था गर्नुकासाथै साइकल समेत उपलब्ध गराएको छ । खाली खुट्टा र भोको पेट त कोही पनि हिंड्न सक्दैन, भन्नलाई स्वयंसेविका भनिए पनि उहाँहरुको समय, पारिवारिक समस्या, व्यक्तिगत समस्यालाई मध्यनजर गर्दै सरकारले दिने सेवा सुविधामा महिला स्वास्थ्य स्वयंसेविका पनि खुसी छन् ।

साथीसँग छुट्टिन गाह्रो
‘२० हजार जिल्ला स्वास्थ्य कार्यालय, २० हजार नगरपालिका बाट पाएँ, दोसोल्ला ओढाए, अबिरजात्रा गरे, हर्षका आँसुसँगै साथीसँग छुट्टिँदा मन अमिलो भयो ।’ उमेरले तीन बीसे हिउँद कट्नु भएकी नरमादेवी ओलीले गत साउनमा गौरीगंगा नगरपालिकाले नगदसहित ससम्मान बिदाई गर्दाको क्षण सम्झँदै सुनाउनुभयो । नरमा आफूलाई पुरस्कारसहित विदाई हुने खुसीभन्दा बढी चिन्तासँगै काम गर्दाका साथीहरुसँग छुट्टिँदा भएको बताउनुभयो ।

बिदाईका दिन ओलीले आफूले स्वास्थ्य स्वयंसेविका भएर काम गर्दा बिताएका मिठापललाई स्मरण गर्नुभयो । ‘म त औंठाछाप हो, लेख्न पढ्न आउँदैन, तालिममा नबुझेका कुरा साथीलाई सोधेर, सरहरुलाई सोधेर आफूले बुझ्थे अनि गाउँघरतिर सम्झाउने गर्थे । तालिममा सँगै गएको सरहरु दिदी बहिनीसँग हाँसेको बोलेको ठट्टा गरेको सम्झे, अब त तालिम, कुनै कार्यक्रममा भेटघाट हुन नपाइने होला भन्ने भयो मन भक्कानियो’ ओलीले बिदाई हुँदै गर्दाको क्षण सुनाउनुभयो । डडेल्धुराको अम्मरगढीमा जन्मनु भएकी ओलीले २०५८ सालदेखि कैलालीको गौरीगंगा नगरपालिका वडा नं. ९ मा स्वास्थ्य स्वयंसेविकाको रुपमा काम गर्दै आएको बताउनुहुन्छ ।

‘लेख्नपढ्न नजाने पनि मैले तालिम, गोष्ठीबाट सुनेका कुरा गाउँघरमा पुगेर सुनाउने र बुझाउने गर्थे, मैले भनेका कुरा गाउँघरतिर सबैले मान्थे । मैले भनेअनुसार गर्थे पनि,’ ओलीले विगत सुनाउनुभयो, ‘सरसफाइका कुरा सिकाइयो, गभर्वती महिलालाई खोपको जानकारी दिइयो, बच्चालाई खोपको जानकारी दिइयो, घरघर गएर पोलियो थोपा, भिटामिन, जुकाको औषधि अनि हात्तीपाइलेको औषधि खुवाइयो ।’

सामान्य लेखपढसमेत गर्न नजान्ने ओली समाजमा हक्की स्वभाव, जानेको कुरा सबैलाई भन्ने र सहयोगी भावनाका कारण आफू स्वयंसेविका भएर काम गर्ने अवसर पाएको बताउनुहुन्छ । उमेर पुग्यो अब काम गर्न मिल्दैन भने अनि के गर्नु त काम गर्ने रहर त थियो,’ काममा अझ जोस देखाउँदै ओलीले भन्नुभयो । उमेरको हदबन्दीपछि खाली हात जानुपर्ने बाध्यतालाई थोरै भए पनि खुसी थप्ने काम गौरीगंगा नगरपालिकाले गरेकोमा उहाँले नगर सरकारलाई धन्यवाद दिइरहनु भएको छ ।

सेवालाई प्राथमिकता
गौरीगंगा नगरपालिका ९ कै उर्मिलादेवी भुसाल २०४७ सालदेखि स्वयंसेविकाको रुपमा कार्यरत हुनुहुन्छ । पाँच कक्षासम्म पढ्नुभएकी भुसालले गाउँमै स्वास्थ्य स्वयंसेविकाको चर्चा सुनेपछि चौमाला पुगेर १२ दिने तालिम लिई अहिलेसम्म सेवामै समर्पित हुनुहुन्छ । सरकारबाट कुनै तलब सुविधा नलिएर दिनरात नभनी निःस्वार्थ सेवा दिँदाको अनुभव सुनाउँदै भुसालले पछिल्लो समय सरकारले थोरै भएपनि आफूहरुको दुःख हेरेकोमा खुसी भएको बताउनुभयो ।

‘पहिला तालिम भत्ता ४० रुपियाँ पाइन्थ्यो, त्यसपछि २०० भयो, अहिले त ४०० भएको छ । अब त हामीले पोसाक भत्ता पनि पाउने भएका छौं । सकारले अवकाशकाबेला नगदसहिद सम्मान गर्ने व्यवस्था गर्दा काममा हौसला बढ्ने रैछ ।’ स्वास्थ्य केन्द्र र स्वास्थ्यकर्मी जत्ति नै बढी किन नहुन् महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका हरेक केन्द्रमा महत्वपूर्ण रहनेगरेको छ । सम्बन्धित वडाका महिला स्वास्थ्य स्वयंसेविकाले वडाको स्वास्थ्य चौकी वा स्वास्थ्य केन्द्रमा खोप कार्यक्रम, गर्भवती चेकजाँच, मातृशिशु कार्यक्रममा सहयोग पु¥याउने गरेको भुसालले जानकारी दिनुभयो ।

स्वयंसेविका भनेपछि उसै पनि बिना पारिश्रमिक भन्ने नै बुझिन्छ । तर समय परिस्थिति, बाध्यतालाई ध्यानमा राख्दै, न्यूनतम आवश्यकता पूरा गर्न सरकारले पोसाक भत्ता, साइकलको व्यवस्था, मासिक एक हजार रुपियाँ यातायात खर्च दिने गरेकोमा आफूहरु सन्तुष्ट रहेको बताउनुभयो ।

२०५७ मा एसएलसी पास गरेपछि घरमा खाली बस्नु भएकी कठायतलाई खाली बस्नुभन्दा समाज सेवा गर्न ईच्छा जाग्यो । त्यसपछि महिला स्वास्थ्य स्वयंसेविका हुन पुगेको उहाँ सुनाउनुहुन्छ । २०६२ मा स्वयंसेविका बन्नुभएकी उहाँ अरुभन्दा पढेलेखेकी युवा हुनुहुन्छ । त्यसैले धेरै महिला दिदीबहिनी उहाँलाई नबुझेको कुरा सोध्नुहुन्छ । “समुदायमा स्वास्थ्य स्वयंसेविका भएर कामगर्दा आफूले राज्यबाट केही पाउँला भन्ने आस होइन, समाजमा केही गरौंला भन्ने भावनासाथ लागेको हुँ” कठायतले भन्नुभयो ।

‘मैले त छोटो समयमा धेरै चिज पाएँ, स्वयंसेविकाको जिम्मेवारी निर्वाहसँगै छरछिमेकबाट माया, सम्मान, समुदायबाट विश्वास, संघ संस्थाहरुबाट सम्मान, राज्यबाट विभिन्नखालको सुविधा पाएकी छु’, कठायत भन्नुहुन्छ, ‘समाजमा नबुझेका अशिक्षित वर्गलाई स्वास्थ्यबारे दुईचार कुरा बुझाउन पाउँदा साह्रै खुसी लाग्छ ।’
मैले हात्तीपाइले रोगको औषधि सेवन अभियानमा महिला स्वयंसेविकाको भूमिकाबाट राम्रो काम गरेबापत एउटा संस्थाले केही वर्षअघि काठमाडौं बोलाएर सम्मान ग¥यो । आफू सम्मान हुँदाको क्षण सम्झँदै अप्सरा भन्नुभयो, ‘हामी यसरी राष्ट्रियरुपमा सम्मानित हुँदा सबैभन्दा जीवनमा कमाएको धन नै त्यही हो जस्तो लाग्छ, गर्व महसुस हुन्छ ।’

नीतिगत व्यवस्था
संविधानले स्वास्थ्यलाई आधारभूत मौलिक हकका रुपमा राखेको छ । संविधानप्रदत्त स्वास्थ्यसम्बन्धी अधिकारलाई सबै नागरिकले उपभोग गर्न पाउने अवसरको सिर्जना राष्ट्रिय स्वास्थ्य नीति, २०७६ जारी भएको छ । त्यसैगरी स्थानीय तहको एकल अधिकार र काममा आधारभूत स्वास्थ्य र सरसफाइ उल्लेख भएकाले, स्थानीयस्तरमा आधारभूत स्वास्थ्यको उपयोग वृद्धि तथा सरसफाइ सुधारमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको महत्वपूर्ण भूमिका रहने स्वास्थ्य विज्ञहरुको भनाई छ ।

महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रमको सुरुवात २०४५ बाट भएको हो । २०४७ मा पहिलो पटक महिला स्वास्थ्य स्वयंसेविका रणनीति बनेपछि औपचारिक रुपमा समुदायस्तरमा विस्तार हुँदैआएको पाइन्छ । राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रम रणनीति, २०६७ मा महिला स्वास्थ्य स्वयंसेविकाका सम्बन्धमा केही परिवर्तन गरेको छ । विवाहित, २५ देखि ४५ वर्ष उमेर समूहमा पर्ने दश कक्षा पास गरेको महिला कुनै राजनीतिक दलमा अवद्ध नभएको, नैतिक पतन नभएको महिला स्वास्थ्य स्वयम्सेविकाको रुपमा रहनसक्ने व्यवस्था छ ।

गौरीगंगा नगरपालिका स्वास्थ्य शाखा प्रमुख उमेश भट्टले समुदायस्तरको स्वास्थ्यबारे जानकारी आदन–प्रदान गर्न स्वयंसेविकाको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । तीन तहको सरकारले उहाँहरुलाई दिने सेवा सुविधामा थपघट हुने बताउँदै भट्टले नगरपालिकाले मासिक एक हजार भत्ता वार्षिक १० हजार पोशाक भत्ता, साइकल, यातायात भत्ता चारसयका साथै अवकाश हुँदा २० हजार नगदसहित बिदाई गर्ने व्यवस्था गरिएको बताउनुभयो ।

‘महिला स्वास्थ्य स्वयंसेविकाले मातृ मृत्युदर र शिशु मृत्युदर घटाउन सहयोग गर्नुभएको छ, उहाँहरु समुदायका विश्वासिला पात्र पनि हुनुहुन्छ,’ प्रमुख भट्टले भन्नुभयो । गौरीगंगा नगरपालिका नगरप्रमुख भीमबहादुर देउवाले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको बताउनुभयो । स्वास्थ्य क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको बताउँदै यसले उहाँहरुमा उत्साह थपिने बताउनुभयो ।